इटहरीः प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएसँगै प्रदेशप्रमुख सोमनाथ अधिकारी (प्यासी) ले नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीको नियुक्ति प्रस्ताव आह्वान गरेका छन् ।
नेपालको संविधान २०७२ को धारा १६८ (२) बमोजिम प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि प्रस्ताव आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । त्यसरी मुख्यमन्त्री नियुक्त गर्न कात्तिक १६ गते मङ्गलबार दिउँसो १ः०० बजेसम्मको समय निर्धारण गरिएको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । मुख्यमन्त्री आचार्यले बुझाएको राजीनामा कार्यालयले स्वीकृतसमेत गरिसकेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी, एकीकृत समाजवादी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च गरी पाँच दलीय विपक्षी गठबन्धनले विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेपछि मुख्यमन्त्री आचार्यले दबाबमा परेर राजीनामाको घोषणा गरेका हुन् ।
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीका अनुसार मुख्यमन्त्री गठबन्धनले नेकपा एकीकृत समाजवादीका प्रदेश संसदीय दलका नेता राजेन्द्र राईलाई गठबन्धनले भावी मुख्यमन्त्रीको दाबेदारका रुपमा अघि सार्नेछ । भदौ १० गते मुख्यमन्त्री बनेका आचार्य नेकपा एमाले विभाजित भई नेकपा समाजवादीको उदय भएसँगै अल्पमतमा परिसकेकाले उनले विश्वासको मत नपाउने निश्चित भइसकेको थियो । यसै कारणले मुख्यमन्त्री आचार्य विश्वासको मत लिने प्रस्ताव जतिसक्दो ढिलो दर्ता गरेर आफ्नो आयु लम्ब्याउने रणनीतिमा लाग्दा प्रस्तावमाथि छलफलको मिति दसैँको बिदापछिका लागि धकेलिएको थियोे । नेपालको संविधान २०७२ को धारा १८८ (२) बमोजिम सरकारको नेतृत्व गरिरहेको दल फुटेपछि संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले ३० दिनभित्र विश्वासको मत लिनका लागि प्रस्ताव लैजानुपर्ने प्रावधान छ ।
९२ सदस्यीय प्रदेशसभामा सभामुखसहित एमालेका ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १÷१ जना प्रदेश सांसद छन् । एमालेका प्रदेश सांसद गुलेफुन खातुन उच्च अदालत विराटनगरले किर्ते कागज मुद्दामा दोषी ठहर गरेदेखि फरार छन् । बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ जुन संख्या जुटाउनु मुख्यमन्त्री आचार्यका लागि असम्भव भएपछि उनले राजीनामा गरेका हुन् ।