इटहरीः प्रदेशसभामा विश्वासको मत नपाउने निश्चित भएपछि अन्ततः प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएका छन् ।

उनको राजीनामासँगै प्रदेशसभाको बैठक कात्तिक २३ गते मङ्गलबार दिनको १ः०० बजेसम्मका लागि स्थगित भएको प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।

पाँच दलिय विपक्षी गठबन्धनले विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेपछि मुख्यमन्त्री आचार्यले दबाबमा परेर राजीनामाको घोषणा गरेका हुन् । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीका अनुसार मुख्यमन्त्री गठबन्धनले नेकपा एकीकृत समाजवादीका प्रदेश संसदीय दलका नेता राजेन्द्र राईलाई गठबन्धनले भावी मुख्यमन्त्रीको दाबेदारका रुपमा अघि सार्नेछ । भदौ १० गते मुख्यमन्त्री बनेका आचार्य नेकपा एमाले विभाजित भई नेकपा समाजवादीको उदय भएसँगै अल्पमतमा परिसकेकाले उनले विश्वासको मत नपाउने निश्चित भइसकेको थियो । यसै कारणले मुख्यमन्त्री आचार्य विश्वासको मत लिने प्रस्ताव जतिसक्दो ढिलो दर्ता गरेर आफ्नो आयु लम्ब्याउने रणनीतिमा लाग्दा प्रस्तावमाथि छलफलको मिति दसैँको बिदापछिका लागि धकेलिएको थियोे ।

नेपालको संविधान २०७२ को धारा १८८ (२) बमोजिम सरकारको नेतृत्व गरिरहेको दल फुटेपछि संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले ३० दिनभित्र विश्वासको मत लिनका लागि प्रस्ताव लैजानुपर्ने प्रावधान छ । २ सदस्यीय प्रदेशसभामा सभामुखसहित एमालेका ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १÷१ जना प्रदेश सांसद छन् । एमालेका प्रदेश सांसद गुलेफुन खातुन उच्च अदालत विराटनगरले किर्ते कागज मुद्दामा दोषी ठहर गरेदेखि फरार छन् । बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ जुन संख्या जुटाउनु मुख्यमन्त्री आचार्यका लागि असम्भव भएपछि उनले राजीनामा गरेका हुन् ।