इटहरीः प्रदेशसभामा विश्वासको मत नपाउने निश्चित भएपछि अन्ततः प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने भएका छन् ।
विश्वासको मत लिने प्रयोजनका लागि मतविभाजनको कार्यतालिकासहित आज अपराहन्न १२ः३० बजे बस्ने प्रदेशसभा बैठकमा मतविभाजन हुनुअघि नै मुख्यमन्त्री आचार्यले राजीनाामा दिने प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले बताए । उनका अनुसार मुख्यमन्त्री आचार्यले सरकारका कामबारे प्रदेशसभालाई जानकारी दिएलगत्तै राजीनामाको घोषणा गर्ने तयारी गरेका छन् ।
पाँच दलिय विपक्षी गठबन्धनले मुख्यमन्त्री भीम आचार्यले आज लिने विश्वास मतको विपक्षमा मतदान गर्ने निर्णय हिजै गरिसकेको छ । गठबन्धनले आज प्रदेशसभामा विश्वासको मत लिन गइरहेका मुख्यमन्त्री आचार्यका विरुद्ध एकताबद्ध भएर मतदान गर्ने निर्णय गरेको नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्की जानकारी दिए ।उनका अनुसार मुख्यमन्त्री आचार्यलाई विश्वासको मत लिन असफल बनाई उनको सरकार गिराउने गठबन्धनले नेकपा एकीकृत समाजवादीका प्रदेश संसदीय दलका नेता राजेन्द्र राईलाई गठबन्धनले भावी मुख्यमन्त्रीको दाबेदारका रुपमा अघि सार्नेछ । पाँचै विपक्षी दलका सबै सांसद आइतबार बेलुकादेखि नै विराटनगरको बिग होटलमा जम्मा भई बसेका छन् । अन्तिम अवस्थामा आएर मुख्यमन्त्री आचार्यले कुनै सांसदलाई आफ्नो पक्षमा पारेर सत्ता लम्ब्याउन सक्ने जोखिमलाई टार्न विपक्षी गठबन्धनले आफ्ना सांसदलाई एकै ठाउँमा राखेको हो । हिजो विराटनगरको एउटा क्याफेमा बसेको गठबन्धनको बैठकमा पाँचै दलका नेताहरू सहभागी थिए । प्रदेश १ का मुख्यमन्त्री आचार्यको सत्ता लम्ब्याउने ध्येयलाई सहयोग पुग्नेगरी प्रदेशसभा बैठक स्थगित गरिएको छ । मुख्यमन्त्री आचार्यले विश्वासको मत लिनका लागि कात्तिक ७ गते अपराहन्न १२ः३० बजेका लागि आह्वान गरिएको प्रदेशसभाको नवौँ अधिवेशनको बैठक प्रधानमन्त्री तथा प्रदेशको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पूर्वाञ्चल भ्रमण र सत्ताधारी दल नेकपा एमालेको जारी अधिवेशनको बहानामा स्थगित गरिएको हो ।
तर, बैठक स्थगित गर्नुको मुख्य कारण भने नेपाली कांग्रेसका केही सांसदहरुले फ्लोर क्रस गरेर वर्तमान मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिनसक्ने विषय सार्वजनिक हुनु रहेको प्रदेशसभासम्बद्ध स्रोतले बताएको छ । भदौ १० गते मुख्यमन्त्री बनेका आचार्य नेकपा एमाले विभाजित भई नेकपा समाजवादीको उदय भएसँगै अल्पमतमा परिसकेकाले उनले विश्वासको मत नपाउने निश्चित छ ।
यसै कारणले मुख्यमन्त्री आचार्य विश्वासको मत लिने प्रस्ताव जतिसक्दो ढिलो दर्ता गरेर आफ्नो आयु लम्ब्याउने रणनीतिमा लाग्दा प्रस्तावमाथि छलफलको मिति दसैँको बिदापछिका लागि धकेलिएको हो । सरकार नेतृत्व गरिरहेको दल फुटेपछि संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले ३० दिनभित्र विश्वासको मत लिनका लागि प्रस्ताव लैजानु पर्ने प्रावधान छ । २ सदस्यीय प्रदेशसभामा सभामुखसहित एमालेका ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १÷१ जना प्रदेश सांसद छन् । एमालेका प्रदेश सांसद गुलेफुन खातुन उच्च अदालत विराटनगरले किर्ते कागज मुद्दामा दोषी ठहर गरेदेखि फरार छन् । बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ जुन संख्या जुटाउनु मुख्यमन्त्री आचार्यका लागि असम्भवप्रायः छ ।