इटहरीः हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडले प्रतिकित्ता ५० रुपैयाँ अङ्कित दरले बिक्री गर्नेगरी साधारण शेयर अर्थात् आईपीओ जारी गर्ने भएको छ ।
कम्पनीले साढे १४ करोड रुपैयाँभन्दा बढीको आईपीओ निष्कासन गर्नका लागि ग्लोबल आइएमई क्यापिटलसँग सम्झौतासमेत गरिसकेको छ । कम्पनीले १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले ५० रुपैयाँ अङ्कित दरका कुल २९ लाख २५ हजार कित्ता आईपीओ जारी गर्नेछ । यस सम्बन्धमा आज ग्लोबल आइएमईको काठमाडाँैको नक्सालस्थित कार्यालयमा आयोजित एक कार्यक्रमबीच कम्पनी र क्यापिटलबीच सम्झौता भएको हो ।
सम्झौतापत्रमा हाथवे इन्भेस्टमेन्टका अध्यक्ष योगेश्वर शर्मा ढकाल र ग्लोबल आइएमई क्यापिटका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले हस्ताक्षर गरेका छन् । धितोपत्र बोर्डसँगको कागजी प्रक्रिया सम्पन्न भएपछि शेयर निष्कासनको मिति तोकिने कम्पनीले बताएको छ ।