काठमाडौँः काठमाडौंको सानोभ¥याङस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा एमबिबिएस चौथो वर्षमा अध्ययनरत एक विद्यार्थी विगत दुई महिनादेखि सम्पर्कविहीन छन् ।
दैलेखको गुराँस गाउँपालिका वडा नम्बर २ बस्ने दानबहादुर शाहीका २४ वर्षीय छोरा राजेश शाही लामो समयदेखि बेपत्ता रहे पनि उक्त घटनाको खास कारण खुल्न सकेको छैन । काठमाडौं महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले शाही बेपत्ता भएको भनि प्रहरीमा निवेदन परे लगत्तै खोजी सुरू गरिए पनि अहिलेसम्म अवस्था पत्ता नलागेको जानकारी दिए । ’कलेजबाट निस्केर गएको भन्ने छ। हामी खोज्दै छौँ । कारण पत्ता लागिसकेको छैन,’ बस्नेतले रासससँग भने । उनका परिवारले भने संस्थानको छात्रावासबाटै शाही हराएको जिकिर गर्दै सेनाले सत्यतथ्य जानकारी दिनुपर्ने माग गरेका छन् । शाहीका फुपूका छोरा (नाताले दाइ) पदम मल्लले भदौ १७ गते कलेजबाटै बेपत्ता भएको जनाउँदै उनको अवस्था छिटो सार्वजनिक गर्न माग गरेका छन् । भदौ १७ गते हराएका उनका बारे २१ गतेमात्रै सेनाले परिवारलाई खबर गरेकाले त्यसप्रति आशंका उब्जिएको उनले बताए ।
खबर पाउने वित्तिकै काठमाडौँ आएर नेपाली सेना र महानगरीय प्रहरी परिसरमा खोजतलासका लागि निवेदन दिएका थिए । तर अहिलेसम्म कुनै जानकारी आउन नसकेको मल्लको गुनासो छ । ’आज ५९औं दिन भयो हराएको अहिलेसम्म अवस्था के छ कसैलाई पत्तो छैन । भइरहेको अनुसन्धान प्रक्रिया पनि चित्तबुझ्दौ छैन,’ उनले भने, ’बाध्य भएर मिडियामा आउनुपरेको छ ।’ मल्लले आफ्नो विद्यार्थीको निगरानी गर्नुपर्ने जिम्मेवारी रहेको संस्थानले ध्यान नदिँदा शाहीको अवस्था अज्ञात बन्न पुगेको बताए । ’शाही असल विद्यार्थी हुन् । गलत भए पनि कानूनी उपचारको बाटो अलग्गै हुन्छ। हामीलाई मान्छे चाहियो,’ उनले जोड दिए । शाहीका साथीहरूले आफूहरूलाई छिटो आएर राजेशलाई निकाल्नू भनेर खबर गरेको उनले बताए । सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले संस्थानको गेटबाट निस्किएपछि शाही सम्पर्कविहीन भएको र अहिलेसम्म अवस्था थाहा हुन नसकेको बताए ।
उनले परिवार, प्रहरी र नेपाली सेनाको संयुक्त प्रयासमा खोजी भइरहेको पनि जानकारी दिए । ’उनी गेटबाट निस्किएपछि सम्पर्कमा आएका छैनन् । कारण फेला पार्न सकिएको छैन,’ प्रवक्ता पौडेलले भने । दुई महिनादेखि फेला नपर्नुमा विडम्बना भएको र उनको खोजीका लागि प्रधानसेनापति प्रभूराम शर्माबाट स्पष्ट निर्देशन आएको पनि उनले जानकारी दिए । प्रवक्ता पौडेलले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले समेत घटनाको अनुसन्धान गरिरहेको र सिआइबीलाई अनुसन्धानमा सेनाको पूर्ण सहयोग रहेको बताए । परिवारका सदस्यले उनको अवस्था पत्ता लगाएर न्याय दिन माग गर्दै आएको छ । -रासस