काठमाडौँः बाँकेका नकुन्नी धोबीको मृत्यु प्रकरण र निर्मला कुर्मी बेपत्ता प्रकरणमा छानबिन गर्न गठित समितिले कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाएको छ ।

गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा गठित छानबिन समितिले आइतबार प्रतिवेदन बुझाएको गृहप्रवक्ता फडिन्द्रमणि पोखरेलले बताए । प्रतिवेदन बुझ्दै गृहमन्त्री खाणले छानबिनबाट निकालिएको निष्कर्ष कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने प्रतिबद्धता जनाए । समितिले प्रतिवेदनमा बाँकेको जानकी गाउँपालिका–२ नेवाजीकी नकुन्नी धोबीको मृत्यु प्रकरणमा जिल्ला प्रहरी कार्यालय बाँकेमा माताप्रसाद धोबीले रामकुमार धोबी र इतवारी धोबी भन्ने लक्षिराम धोबीउपर जाहेरी दिएको उल्लेख छ । प्रतिवेदनमा जाहेरीपछि अनुसन्धान भएर दुवै आरोपी हाल पुर्पक्षका लागि थुनामा रहेको र हाल मुद्दा विचाराधीन रहेको जनाइएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–१७ का निर्मला कुर्मीको बेपत्ता प्रकरणमा भने जग्गाको कुरा जोडिएको प्रतिवेदनले औँल्याएको छ । समितिले निर्मला कुर्मीको घटनामा सम्बन्धित निकायबाट विज्ञसहितको टोली गठन गरी अनुसन्धान गर्न सिफारिस गरेको छ । उक्त समितिमा प्रहरी उपरीक्षक रामप्रकाश शाह, उपअनुसन्धान निर्देशक वीरेन्द्रसिंह कार्की, उपसचिव रामप्रसाद लम्साल, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत अमरराज सेजुवाल र मोहम्मद शेर बागवान सदस्य थिए । -रासस