इटहरीः मोरङको विराटनगर महानगरपालिकाअन्तर्गत कञ्चनबारीमा रहेको नोबेल मेडिकल कलेज शिक्षण अस्पतालअगाडि परिचालित प्रहरीमाथि हातपात गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा विराटनगर ४ घर भएका ३३ वर्षीय शंकर प्रधान, २६ वर्षीय स्टालिन भट्टराई, २४ वर्षीय सुमन बास्कोटा र ३२ वर्षीय सकिल देवान रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार अभियुक्तहरुउपर आइतबार सुरक्षा व्यवस्थाका लागि परिचालित प्रहरीको बर्दी च्यात्ने तथा हातपात गर्ने कार्यमा संलग्न रहेको आरोप छ ।

नोबेल अस्पतालअगाडि युवाहरुको समूहले होहल्ला गरिरहेको सूचनाका आधारमा परिचालित प्रहरीमाथि हातपात गर्नुका साथै उनीहरुले बोकेको हत्कडी र गाडीको चाबीसमेत फालिदिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको एसपी राईले जानकारी दिए । अभियुक्तहरुलाई जिल्ला अदालतको आदेशमा अभद्र व्यवहार मुद्दामा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय विराटनगरको हिरासतमा राखी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।