इटहरीः इलामको देउमाई नगरपालिका ५ बारुङ का ३३ वर्षीय कमल तामाङले आफ्नो गाँउ ठाँउमा राम्रो छबि बनाएका थिए । खेती किसानी गदै केही महिनाअघि अटो खरिद गरेर अटो चलाइ रहेका थिए । यहाँसम्म कि उनले आफ्नो अटोमा दु:ख बिरामी परेकालाई निःशुल्क गन्तव्यमा पुर्याउँथे ।
शालीन र सहयोगी स्वभावका कमलले आफ्नै श्रीमती सीता र १६ बर्षिया छोरी शिक्षाको हत्या गरे भनेर छिमेकी र आफन्तले नै सुरुमा विश्वास गरेनन् । कमल दशैँको टिकाको भोलिपल्टबाट बिरामी भए । शरीर काम्ने र ज्वरो आउने गरेका कारण उनी घरमै आराम गरिरहेका थिए । साँझ भएपछि प्राय कमल बिरामी पर्थे । घटना भएको अघिल्लो दिन अर्थात् कार्तिक ८ कमलको स्वास्थ्यमा सुधार नभएपछि परिवारको सल्लाहमा घरमा धामी राख्ने योजना बन्छ । तर कमलका दुई दिदीमध्ये एक दिदी लामो समयदेखि गाँउघरमा नै धामी बस्दै आएकी हुन्छिन् । दिदीको सुझावमा कार्तिक ८ मा राति धामी बस्ने भनेर परिवारका सबै सदस्य भेला हुन्छन् । कमलका बुवा, आमा, दुई दिदी र श्रीमती छोरीसहित राति ९ बजेबाट धामी बस्न सुरु हुन्छ । धामी बस्ने क्रममा दिदीले कमल बिरामी हुनुको कारण परिवारको सदस्यमा ‘भूत प्रेत’ पसेको कारण यस्तो भएको बताउँछिन् ।
सो क्रममा श्रीमती र छोरीको शरीरमा प्रेत पसेको र उनीहरूकै कारण भाइ बिरामी भएको भनेर दिदीले सुनाउँछिन् । र प्रेत निकाल्ने भन्दै कमललाई श्रीमती र छोरीमाथि टोक्न र पिट्न लगाइन्छ । अर्ध बेहोस अवस्थामै कमलले श्रीमती सीता र छोरी शिक्षामाथि आक्रमण गर्न थाल्छन् । कमलले श्रीमतीको घाँटी, गर्दन, पेट र खुट्टा लगायतका भागमा जथाभावी टोक्छन् । र छोरीको पनि घाँटी, तिघ्रा र स्तनमा टोक्छन् । दाँतको टोकाइबाट आत्तिएर श्रीमती र छोरी चिच्याउन थालेपछि कमलले दुवै जनाको घाँटी थिची हत्या गरेको प्रहरीको अहिलेसम्मको प्रारम्भिक अनुसन्धान छ । घटना करिब १२ः०० बजेपछि भएको अनुमान गरिएको छ । दिदीको इसारामा अन्धविश्वासको भरमा परेर कमलले आफ्नै श्रीमती र छोरीको हत्या गर्न पुग्छन् ।
घटनास्थल पुगेर फर्किएका देउमाई नगरपालिका ५ का वडाध्यक्ष दीलिपकुमार कार्कीका अनुसार परिवारको धामी झाँक्रीप्रतिको अन्धविश्वासका कारण जघन्य घटना हुन पुगेको बताउँछन् । ‘कमल गाँउको अत्यन्त राम्रो मान्छे हो, परिवारका सदस्यको इसारामा लाग्दा घटना भयो’ कार्की भन्छन् ‘यसमा उनकी दिदीको प्रत्यक्ष भूमिका छ ।’ ‘कमलको दिदी पुरानो धामी हुनु, त्यस दिनपनि उनकै योजनामा धामी बसेको हो । तर यस्तो घटना हुन्छ भनेर कसैले विश्वास गरेका थिएनन् ।’ ‘हाम्रो क्षेत्रमा केही दुःख बिरामी परे धामी झाँक्रीको मद्दत लिने गरिन्छ ।’ ‘यसलाई निरुत्साहित गर्न सकेका छैनाँै’ वडाध्यक्ष कार्की भन्छन् । अहिले जिल्ला प्रहरी कार्यालय इलामले हत्यामा संलग्न कमलसहित उनका आमा, बुवा, र दुई दिदीलाई म्याद थप गरी अनुसन्धान गरिरहेको छ । कमलसहित सबैलाई कर्तव्य ज्यान मुद्दा चलाउने प्रहरीको तयारी छ । यता जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले घटनामा संलग्न ५ जना परिवारका सदस्यलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको बताए ।