इटहरीः पूर्वी पहाडी जिल्ला ताप्लेजुङ्गको चर्चित धार्मिक पर्यटकीयस्थल पाथीभराको दर्शन गर्नका लागि पूर्वको अर्को पर्यटकीय गन्तव्य भेडेटारबाट हेलिकप्टर सेवा दिइने भएको छ ।
सुन्दर शहर धरानबाट मनोरम दृष्यसँगै छोटो समयमा पुग्न सकिने भेडेटार पूर्वको राम्रो पर्यटकीय गन्तव्य हो । यो पर्यटकीय गन्तव्यमा आएका पर्यटकलाई छोटो समयमै ताप्लेजुङ्गको पाथीभरा देवीको दर्शन गरेर चाँडै फर्कन सकिनेगरी हेलिकप्टर सेवाको सुरुवात गर्न लागिएको भेडेटार टुर्स एण्ड ट्राभल्सका सञ्चालक लिलाराज लावतिले बताए । भेडेटारमा हेलिप्याड निर्माण भइसकेको अवस्थामा त्यहाँ आउने पर्यटकलाई लक्षित गरेर छिटो र सरल सेवा दिउँ भन्ने भएर यस्तो सेवाको सुरुवात गरेको होटल लावति कर्नरका सञ्चालकसमेत रहेका लावतिले हामीलाई बताए । धरानबाट हेलिकप्टरको सेवा पहिलेदेखि नै सुरुवात भइसकेको र भेडेटारमा पनि हेलिप्याड भएकाले साथीहरुसँग समन्वय गरेर भेडेटारदेखि पाथीभराको सिधा उडान सेवा दिन लागेको लावति बताउँछन् ।
भेडेटार आफँैमा राम्रो पर्यटकीय गन्तव्य भएकाले त्यहाँ आउने आन्तरिक पर्यटकलाई पाथीभराको दर्शन पनि गरौँ न भन्ने मनसाय हुँदा जम्मा डेढ घण्टामै भेडेटारबाट पाथीभरा र पाथीभराबाट भेडेटारको यात्रा गराउने लावतिको भनाइ छ । ज्येष्ठ नागरिक, शारीरिक अशक्तता भएका साथै छोटो समय भएकालाई यो सेवा बढी उपयोगी हुने पर्यटनकर्मीहरुको विश्वास छ । लावतिले ३० हजार ५ सय रुपैयाँमा रिटर्न प्याकेज दिने र साथमा भेडेटारको होटल लावति कर्नरमा लजिङ्ग र फुडिङ्गको व्यवस्था पनि गरिएको बताएका छन् । २ वर्षभन्दा सानो उमेरका बच्चाको लागि निःशुल्क सेवा दिने र एउटा उडानमा ५ जनाभन्दा बढी यात्री हुन नहुने लावतिले बताएका छन् । जान ३० मिनेट आउन ३० मिनेर र दर्शन गर्न ३० मिनेट गरेर डेढ घण्टाको समयमा दर्शन गरेर आउन सकिने बताइएको छ । सुन्दर पर्यटकीय क्षेत्रबाट सुरु गरिएको यो सेवाले फन पm्लाइटको मज्जा लिन चाहने पर्यटक तथा युवा पुस्ताको सपनालाई समेत सार्थक पार्ने विश्वास लिइएको छ ।