इटहरीः अघिल्लो महिना साधारण सेयर बिक्रि गरेको साहस उर्जा कम्पनी लिमिटेडको शेयरको आइतबारबाट दोस्रो बजारमा कारोबार सुरु भएको छ । 

गत बिहिबार नेपाल स्टक एक्चेन्जमा शेयर सूचीकृत भएपछि साहस र तेह्रथुम पावर कम्पनी दुवैको शेयर आइतबारबाट कारोबार सुरु भएको हो । सुरुवातको पहिलो कारोबारमै साहस उर्जाले राम्रो बजार मूल्य पाएको छ । नेपाल स्टकले तोकिदिएको ओपनिङ्ग रेन्जभित्र कारोबार हुने भएकाले जथाभावी कारोबार मुल्य तोक्न भने पाइँदैन तथापि दुवै कम्पनीले राम्रो शेयर मूल्य पाएका छन् । दुवैको शेयर स्पेसल प्रि–ओपन शेयर किनबेच भएपछि नियमित समयका लागि कारोबार खुला भएको हो ।

प्रि–सेसनमा साहस उर्जाको सेयर प्रतिकित्ता ४०५.३० रुपैयाँमा कारोबार भएको छ भने उता तेह्रथुम पावरको २५४.२० रुपैयाँमा पहिलो कारोबार भएको छ । नेप्सेले पहिलो कारोबारका लागि साहस उर्जालाई प्रतिकित्ता न्यूनतम १३५.११ रुपैयाँदेखि अधिकतम ४०५.३३ रुपैयाँ र तेह्रथुम पावरलाई प्रतिकित्ता न्यूनतम ८४.७४ रुपैयाँदेखि अधिकतम २५४.२२ रुपैयाँ ओपनिङ रेन्ज तोकेको थियो । सुरुवातमै राम्रो मूल्य पाएको साहसले दोस्रो बजारमा राम्रो प्रभाव पार्ने विश्वास गरिएको छ ।