इटहरीः प्रदेश नम्बर १ र २ का पर्यटन व्यवसायीहरु दुवै प्रदेशका पर्यटकीय गन्तव्यहरुको एकैसाथ प्रवद्र्धन गर्न जुटेका छन् ।
प्रदेश नम्बर २ को चर्चित व्यावसायिक शहर वीरगञ्जमा हिजो छलफलमा जुटेका दुवै प्रदेशका पर्यटन व्यवसायीहरुबीच दुवै प्रदेशलाई पर्यटनका माध्यमबाट पहिचान र समृद्धि दिलाउने सहमति भएको हो । छलफलमा सहभागी नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं २ का अध्यक्ष गणेश लाठका अनुसार प्रदेश न १ र २ को धार्मिक, साँस्कृतिक र प्राकृतिक हिसाबले दुवै प्रदेशमा प्रचुर संभावना भएपनि पर्यटन क्षेत्रमा राज्यको उपेक्षाका कारण पूर्वाधार विकास हुन नसक्दा ओझेलमा परेकोले पर्यटन व्यवसायीहरुले संयुक्त अभियान सञ्चालन गर्ने सहमति भएको छ । होटल एसोसियसन नेपाल हान प्रदेश नं १ का अध्यक्ष राजन श्रेष्ठको नेतृत्वमा पुगेको प्रतिनीधि मण्डललाई नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं २ का अध्यक्ष गणेश लाठ नेतृत्वको टोलीले स्वागत गरेको थियो । वीरगञ्जका उद्योगी, होटल तथा पर्यटन व्यवसायीले भने भारतीय पर्यटकलाई सम्मान गर्न सक्नुपर्नेमा जोड दिए ।
उनीहरुले भारतीय पर्यटकलाई आकर्षित गर्न प्याकेज ल्याउनुपर्ने बताए । कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघको आगामी कार्य समितिको बैठक भेडेटारमा गर्ने घोषणा गरिएको छ । कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ता, बरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्षद्वय हरि गौतम, माधव राजपाल, सचिव मनोज दास, सह सचिव अनोज रुंगटा, पर्यटन तथा हवाइ यातायत समिति सह संयोजक सञ्जय अग्रवाल, नेपाल युव उद्यमी मञ्च वीरगञ्जका अध्यक्ष अनुप अग्रवाल, मकालु होटलका सञ्चालक मोहन प्रधान लगायतले प्रदेश नं २ र प्रदेश १ मा पर्यटकीय सम्भावना र सहकार्य गर्न सकिने ठाउँहरुको बारेमा चर्चा गरेका थिए ।
प्रदेश नं १ बाट पुगेका आन्तरिक पर्यटन पुनरत्थान समिति संयोजक भविसकुमार श्रेष्ठ, नाट्टा प्रदेश नं १ का अध्यक्ष उदयकुमार श्रेष्ठ, नाट्टा प्रदेश नं १ का मजा सचिव नवीन खरेल, होटल व्यवसायी महासंघ प्रदेश नं १ का अध्यक्ष राजन दंगाल, होटल व्यवसायी महासंघका महासचिव बासुदेव बराल, इटहरी होटल संघका अध्यक्ष जीवन पराजुली, सुनसरी उद्योग वाणिज्य संघकी एलिना मगर, बर्दिबासका होटल व्यवसायी दिपेन्द्र पराजुली लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण वीरगञ्ज उद्योग वाणिज्य संघका मनोज उपाध्यायले गरेका थिए ।