इटहरीः मोरङको सुन्दरहरैँचा नगरपालिका ४ स्थित पूर्वपश्चिम राजमार्गमा हिजो साँझ लहरीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही नगरपालिकाको सोही वडा घर भएका ४५ वर्षीय श्यामकुमार लिङ्खा रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार हिजो साँझ करिब ६ बजे पूर्वबाट पश्चिमतर्फ गइरहेको बीआर ०३०६ नम्बरको मालवाहक भारतीय लहरीले पश्चिमबाट पूर्व आइरहेको स्कुटीलाई ठक्कर दिँदा स्कुटी चालक लिङ्खाको मृत्यु भएको हो । 

यसैबीच, झापाको अर्जुनधारा नगरपालिका ११ सालबारीमा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक १८ वर्षीय कुशल दास रहेको एसपी राईले बताए । उनका अनुसार दास आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा उनको मृत्यु भएको हो । दुवै दुर्घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।