इटहरीः मोरङको विराटनगरबाट करिब दुई किलो चाँदीसहित शुक्रबार साँझ एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१५ का ४५ वर्षीय बलराम सिंह रहेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तिर्थ पौडेलले बताए । उनका अनुसार सिंहको शरीर खानतलासी गर्दा चाँदीबाट बनाइएका औँठी, विभिन्न देवीदेवताका आकृति र सिक्काजस्तो देखिने वस्तु बरामद भएको छ । सीमावर्ती भारतीय बजार जोगबनीबाट पैदल हिँडेर नेपालतर्फ प्रवेश गर्ने क्रममा शुक्रबार साँझ ६ः३० बजे विराटनगर भन्सार कार्यालयको २ नम्बर ढाटमा तैनाथ सशस्त्र प्रहरीको टोलीले शङ्का लागी जाँच गर्दा पेटीले कम्मरमा बाँधेर राखेको चाँदी बरामद भएको एसपी पौडेलको भनाइ छ ।
पक्राउ परेका अभियुक्त सिंहलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीको जिम्मा लगाइएको बताउँदै प्रहरीले बरामद भएको धातु चाँदी भए नभएको यकिन गर्न जाँचको प्रकृया अगाडि बढाइएको जनाएको छ ।