इटहरीः कोरोना महामारी र बेमौसमी वर्षासँगै आएको बाढीले तिहारका लागि अत्यावश्यक मध्येको एक सयपत्री फूलको उत्पादनमा प्रभाव परेको छ ।

सुनसरीको इटहरी सहितका क्षेत्रमा लगाइएको सयपत्रीको उत्पादनमा प्रकृतिक प्रकोपले वितण्ड मच्चाएपछि कृषक चिन्तित बनेका छन् । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ३ मा सृजनशील उद्यमी महिला कृषक समूहले गत वर्षदेखि सयपत्री फुलको खेति गर्दै आएका छन् । महिलाहरु समूहमा आबद्ध भएर फूल खेति गरेको पहिलो वर्ष आशातित आम्दानी भयो । तर, यो वर्ष कोरोना महामारी र अविरल वर्षाका कारण आएको बाढी तथा हावाहुरीले फूल खेतिमा प्रभाव परेको छ । गत वर्ष झण्डै आधा बिघा क्षेत्रफलमा महिलाहरुले फूल खेति गरेका थिए । सोही ठाउँमा उत्पादित फूलको बिक्रीबाट उनीहरुले झण्डै ३ लाखको आम्दानी गरे । तर अहिले फूल खेतिको क्षेत्रफल विस्तार भएपनि आम्दानी कम हुने भन्दै महिलाहरु चिन्तित बनेका छन् । ‘हामीले फूल खेति गरेको दुई वर्ष भयो’, सृजनशील उद्यामी महिला कृषक समूहकी अध्यक्ष यशोदा काफ्लेले भनिन्, ‘पोहोरचाहिँ राम्रै थियो । आम्दानी पनि ठीकै भएको थियो । यसपालिचाहिँ बिरुवा पनि खासै राम्रो परेनछ । पानी परेर बाढी आएकाले पनि खासै सप्रेन बिरुवा । बिरुवा किन्ने समयमा पनि कोरोनाले गर्दा खासै राम्रो किन्न पाइएन । आम्दानी पोहोरको भन्दा कम हुन्छजस्तो हामीलाई लागेको छ ।’

प्राकृतिक प्रकोपले मात्रै होइन, सरकारले पनि आफूहरुलाई साथ नदिएको उनीहरुको गुनासो छ । इटहरी उपमहानगरपालिकाले उपमेयर आत्मनिर्भर कार्यक्रमअन्तर्गत २५ सय सयपत्रीका बेर्ना दिनबाहेक अन्य कुनै निकायबाट आफूहरुलाई सहयोग नभएको समूहकी सहसचिव ज्ञानु अधिकारी बताउँछिन् । तर, त्यो सहयोग मात्रले आफूहरुलाई नपुग्ने उनको भनाइ छ । अब बेर्ना मात्र होइन, समय–समयमा आउने यस्ता विपत्तिको सामना गर्न र अन्य प्राविधिक सहयोग पनि सरकार पक्षबाट आफूहरुलाई हुनुपर्ने उनको माग छ । ‘हामीलाई यो उपमेयर आत्मर्निभर कार्यक्रमबाट इटहरी उपमहानगरपालिकाबाट २५ सय विरुवा सहयोग गर्नुभएको छ’, सह–सचिव अधिकारीले भनिन्, ‘त्यहाँभन्दा उताचाहिँ हामीलाई केही सहयोग छैन । हामीलाई गोडमेल, दबाइपानी, मलजल र सिँचाइमा सहयोग छैन । यसमा पनि सरकारले हेरिदिए राम्रो हुन्थ्यो ।’ यता उपमहानगर भने आफू सहयोगलाई वार्षिक रुपमा बढाउँदै लैजाने बताउँछ । अहिले आफूहरुले सहयोगको आवश्यकता पहिचान गरिहरेको र आगामी वर्ष अन्य प्राविधिक सहयोगमा पनि आफ्नो ध्यान जाने उपमहानरकी उपमेयर लक्ष्मी गौतम बताउँछिन् ।

‘हामीले उहाँहरुलाई २५ सय बिरुवा सहयोग गरेका छौँ । अघिल्लो वर्ष पनि हाम्रै सहयोगमा फूल खेति उहाँहरुले सुरु गर्नुभएको हो’, उपमेयर गौतमले भनिन्, ‘फूल खेतिसम्बन्धी तालिम, समूह कसरी बनाउने, समूहमा कसरी काम गर्ने भनेर हामीले सर्पोट गरेर उहाँहरुले फूल खेति सुरु गर्नुभएको हो । यसले कति वर्षदेखि बाँझो रहेको उहाँहरुको जग्गा प्रयोगमा आएको छ ।’ बेर्नाको समस्या समाधानका लागि आगामी वर्ष बेर्ना उत्पादनसम्बन्धी तालिम र बाहै्र महिना कसरी फूल खेति गर्ने भनेरसमेत सिकाउने उनले प्रतिबद्धता जनाइन् । ‘पहिलो कुरा हामी उहाँहरुलाई बेर्ना बनाउन सिकाउँछौँ’, उपमेयर गौतमले भनिन्, ‘अनि बाह्रै महिना कसरी फूल खेति गर्ने भनेर पनि सिकाउछौँ । थोरै मात्रामा फूल उत्पादन भए इटहरीमा जुनसुकै समयमा पनि आवश्यक पर्छ । कसैको बिहे हुन्छ,, गाडी सजाउन तथा पूजाआजामा पनि फूल आवश्यक पर्ने भएकाले हामी बाह्रै महिना फूल उत्पादन गर्न सिकाउँछौँ ।’ अहिले इटहरीमा भारतीय फूलको भर पर्नुपर्ने बाध्यता रहेको भन्दै यो परनिर्भरता कम गर्ने खालको काम गर्नेसमेत उनले प्रतिबद्धता जनाइन् ।