इटहरीः झापाको अर्जुनधारा नगरपालिका ६ बाट प्रहरीले छात्रालाई यौन शोषण गरेको आरोपमा एक शिक्षकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने जितेन बस्नेत रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार अभियुक्त बस्नेत झापाकै बिर्तामोड नगरपालिकास्थित न्युटन एकेडेमीमा गणित शिक्षकका रुपमा असोजसम्म कार्यरत थिए । असोजदेखि भने अध्ययनका लागि भारत जाने भन्दै उनले अध्ययन बिदा लिएर गएको विद्यालयका प्रिन्सिपल देवेन्द्र हुमागाईंले जानकारी दिए ।

अभियुक्त बस्नेतउपर विद्यालयमा कार्यरत रहेकै अवस्थामा एक १५ वर्षीया किशोरीमाथि परीक्षामा सहयोग गर्ने प्रलोभन देखाई यौन दुव्र्यवहार गरेको आरोप छ । अभियुक्त बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा किशोरीलाई पठाएको अश्लिल म्यासेज परिवारले देखेपछि उनका विरुद्ध उजुरी परेको हो । पक्राउ परेका अभियुक्तलाई इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा राखी अनुसन्धान अगाडि बढाइएको बताउँदै प्रहरीले पीडित बालिकाको बुधबार नै स्वास्थ्य परीक्षण गरिएको जनाएको छ ।