इटहरीः सुनसरी जिल्ला प्रशासनमा आएका नयाँ प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले प्रशासनको स्वीकृतिबिना कुनै पनि सरकारी, गैह्रसरकारी तथा राजनीतिक कार्यक्रम नगर्न सार्वजनिक अनुरोध गरेका छन् ।
बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै प्रजिअ यादवले शान्तिपूर्ण तरिकाले कार्यक्रम सम्पन्न गर्नका लागि कम्तिमा २ दिन पहिल्यै जिल्ला प्रशासनमा निवेदन दिन भनेका छन् । जिल्लाभित्र सञ्चालित हुने सरकारी, गैरसरकारी तथा राजनीतिक कार्यक्रमलाई व्यवस्थित रुपमा सञ्चालन गर्न र द्वन्द्व वा झडपको सम्भाव्य खतरालाई टार्नका लागि जिल्ला प्रशासनलाई जानकारी गराउनुपर्ने प्रजिअको बुझाइ छ । जिल्ला प्रशासनले कायक्रमको सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउनुका साथै अराजक र अप्रिय घटना हुन नदिनको लागि पूर्वआँकलन गरी प्रहरी परिचालन गर्न सहज हुने भन्दै स्वीकृतिबेगर आयोजना हुने कार्यक्रमलाई प्रशासनले रोक लगाई कानूनबमोजिम कारबाहीगर्ने समेत प्रजिअ यादवद्वारा हस्ताक्षर गरिएको सूचनामा उल्लेख छ ।