इटहरीः रामधुनी नगर क्षेत्रका जनता समाजवादी, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले ४ बुँदे माग राख्दै नगरपालिकालाई ध्यानाकर्षण गराएका छन् ।
नगरपालिकाले पालिकामा रहेका करार कर्मचारीलाई म्याद थप्न अस्वीकार गरेका प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेलाई सरुवा गराएको र आफ्नो अभिष्ट पुरा गर्न नयाँ प्रमुख प्रशासकीय अधिकृत ल्याएको भन्दै त्यसको भत्र्सनासमेत ध्यानाकर्षणपत्रमा गरिएको छ । रामधुनी नगरपालिकामा लामो समयदेखि गैह्रकानूनी रुपमा राखिएका करार कर्मचारीलाई हटाउनुपर्ने माग राख्दै आएका नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको लहरमा नेकपा एकीकृत समाजवादी पार्टीसमेत थपिएको छ । यी तीनै पार्टीका रामधुनी नगरस्तरीय प्रतिनिधिहरु, माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष उत्तम पौडेल, जनता समाजवादी पार्टीका नगर समिति अध्यक्ष रामबहादुर खड्का र नेकपा एकीकृत समाजवादीका नगर प्रतिनिधि दीपक अधिकारीद्वारा हस्ताक्षर गरिएको ध्यानाकर्षणपत्रमा ४ बुँदामा ध्यानाकर्षण गराइएको छ ।
ध्यानाकर्षण गराइएका बुँदामा गैह्रकानूनी रुपमा राखिएका अनावश्यक कर्मचारीको निष्कासनलाई पहिलो प्राथमिकतामा राखिएको छ भने कानूनसम्मत रुपमा नियुक्त भएका सम्पूर्ण शिक्षक कर्मचारीको तलबभत्ता तुरुन्त उपलव्ध गराउनसमेत भनिएको छ । गैह्रकानूनी कर्मचारीको विवादका नाममा ठप्प पारिएका विकास निर्माणका कामहरु तुरुन्त सुचारु गर्न र नगरमा व्याप्त भ्रष्टाचार र बेरुजुको अन्त्य गर्न ध्यानाकर्षणपत्रमा भनिएको छ । आफूहरुका मागलाई सम्बोधन नगरे आन्दोलनमा जानेसमेत यी तीन पार्टीका प्रतिनिधिले ध्यानाकर्षणपत्रमा उल्लेख गरेका छन् । रामधुनी नगरपालिकाकी उपप्रमुख सविना चौधरीले नगरपालिका भित्रका समस्याको विषयमा आफूहरु सम्वेदनशील भएको प्रदेश पोर्टललाई बताइन् । नयाँ प्रमुख प्रशासकीय अधिकृत आइसकेकाले प्रक्रिया सकेर तलब नपाएका सबै कर्मचारीको तलब निकासा गरिनेसमेत उनले प्रष्ट पारिन् ।