इटहरीः साहस उर्जा लिमिटेड र तेह्रथुम पावर कम्पनीको शेयर बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।
साहसको आईपीओ बिक्रीपछिको चुक्ता पूँजीका आधारमा कायम ३ करोड ५० लाख कित्ता शेयर सूचीकृत भएको छ भने यसको पहिलो कारोबारका लागि १३५.११ रुपैयाँदेखि ४०५.३३ रुपैयाँसम्मको ओपनिङ रेन्ज नेप्सेले तोकिदिएको छ । आइतबार सोही मूल्यभित्र रहेर यसको शेयर कारोबार खुल्नेछ । यसैगरी, तेह्रथुम पावरको पनि हालै बिक्री भएको आईपीओसहित चुक्ता पूँजीका आधारमा कायम कुल ४० लाख कित्ता शेयर सूचीकृत भएको छ ।
तेह्रथुम पावरको पहिलो कारोबारका लागि नेप्सेले ८४.७४ रुपैयाँदेखि २५४.२२ रुपैयाँसम्म रेन्ज तोकिदिएको छ । आइतबार सोही मूल्यभित्र रहेर शेयर कारोबार खुल्नेछ । नेप्सेले दोस्रो बजारमा कारोबारका लागि तेह्रथुमलाई ‘टीपीसी’ संकेत दिएको छ भने साहस उर्जाको संकेत ‘एसएएचएएस’ रहेको छ ।