इटहरीः मोरङको विराटनगर महानगरपालिका १८ स्थित भेडियारीबाट प्रहरीले स्रोत नखुलेको आठ लाख २० हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका ३ घर भएका उमेश साह रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार रकमको स्रोत देखाउन नसकेपछि इलका प्रहरी कार्यालय रानीको टोलीले उनलाई पक्राउ गरेको हो । उनले प्रयोग गरेको को.२९ प ८६४० नम्बरको स्कूटरसमेत प्रहरीले नियन्त्रणमा लिएको एसपी राईले जानकारी दिए ।

अभियुक्त साहका साथबाट १००० दरका ३३५ थान, रु ५०० दरका ६४० थान, रु १०० दरका १६०० थान र ५० दरका १०६ थान नेपाली नोट बरामद भएको बताउँदै प्रहरीले आवश्यक कारबाहीका लागि उनलाई राजश्व अनुसन्धान कार्यालय इटहरीको जिम्मा लगाइएको जनाएको छ ।