इटहरीः झापाको भद्रपुरमा सरकारी भवन निर्माणका लागि जग्गा अपर्याप्त भएपछि स्थानीयको जग्ग अधिग्रहण गर्ने तयारी गरेको सरकारले जग्गा अधिग्रहण नगर्दा स्थानीय मर्कामा परेका छन् ।
भन्सार कार्यालयको भवन निर्माणका लागि जग्गा अधिग्रहणको आश्वासन दिएर भोगचलनमा रोक लगाएपनि सरकारले जग्गा अधिग्रहण गर्न तदारुकता नदेखाएको भन्दै जग्गाधनीहरु आन्दोलित भएका हुन् । उनीहरुले जग्गा अधिग्रहणको प्रकृया तत्काल अगाडि बढाउन माग गर्दै हिजो भन्सार कार्यालयमा तालाबन्दीसमेत गरेका थिए । केही समयपछि प्रहरीले ताला खुलाएको थियो । आक्रोशित स्थानीयहरुलाई भन्सार कार्यालयका प्रमुख प्रमोद पौडेलले चाँडै मुआब्जा वितरण गरी जग्गा अधिग्रहण गर्ने आश्वासन दिएपछि उनीहरू फर्किएका थिए । सरकारले जग्गा अधिग्रहण नगर्दा भएको जग्गामा संरचना बनाउन पनि नपाउने र अन्यत्र जग्गा खरिद गर्न पनि नसकिने भएपछि आफूहरु संकटमा परेको स्थानीयको गुनासो छ ।
‘भन्सार अगाडिको सडक अग्लो बनाइदिएको छ, पानी जाने निकास छैन, हिलैहिलोमा बस्नु परेको छ,’ जग्गाधनी निर्मला पाठकले भनिन्, ‘भन्सारले भन्दै आएको छ यहाँ घर नबनाउनुस्, यो जग्गा भन्सार लिन्छ, न त भन्सारले जग्गा लिन्छ, न त घर बनाउन दिन्छ ।’ सबै कागजपत्र भन्सारलाई बुझाइसकेको उनले बताइन् । भन्सार कर्मचारीले प्रक्रियामा गइसकेको र चाँडै पैसा पाउनुहुन्छ भनेको पनि डेढ वर्ष वितिसकेको पाठकले सुनाइन् । मेची नदीमा पक्की पुल बनेपछि सरकारले २०७५ भदौ १ गतेदेखि भद्रपुर भन्सार कार्यालयको स्तरोन्नति गर्दै मूल भन्सारमा परिणत गरेको छ । ३० परिवारको ९ बिघा जग्गा अधिग्रहणको प्रकृया सुरु गर्ने निर्णय २०७६ बैशाख १७ गते भई २०७७ साउन २७ गते सूचना प्रकाशन गरी जग्गा रोक्कासमेत भइसकेको अवस्थामा जग्गा अधिग्रहणको प्रकृया टुङ्गोमा नपुग्दा स्थानीयवासी समस्यामा परेका हुन् । जग्गा अधिग्रहणको विषयमा पटकपटक बैठक भएपनि ठोस निर्णय हुन सकेको छैन ।