इटहरीः नेपाल कम्युनिस्ट पार्टी एमालेको रामधुनी नगरपालिकामा विभाजित दुई खेमा एकै ठाउँमा सहभागी भएर पार्टीको नगरस्तरीय अधिवेशनको खुल्ला सत्र सम्पन्न गरेको छ ।
एमाले सुनसरी जिल्ला कमिटीमा दुई खेमा रहेकाले स्थानीय तहसम्मै विभाजित बनेका नेता कार्यकर्ताहरु एकै ठाउँमा आएर पार्टीको नगर अधिवेशनमा सहभागी भएका थिए । रामधुनी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष एवम् एमाले नेता डेगराज फुयाँलको अध्यक्षतामा भएको नगर अधिवेशन राज्य पुनःसंरचना भएपछिको पहिलो हो ।
पार्टीका विवादित खेमाहरु एकै ठाउँमाा जम्मा भएर एकताको सन्देश दिँदै खुल्ला सत्र सम्पन्न भएकोमा नगरस्तरीय कार्यकर्ताहरुले खुसी व्यक्त गरेका छन् । नगर अधिवेशनको बन्दसत्र भोलि कार्तिक १० गते हुने कार्यक्रम छ भने नयाँ कार्यसमिति चयनको लागि छलफल र चुनावको मितिसमेत सार्वजनिक हुन बाँकी छ ।