इटहरीः कमेडी जनराको फिल्म ‘चुरीफुरी’ को ‘ओइओई पियारी’ बोलको गीत सोमबार हाइलाइट्स नेपालको युट्युबमार्फत् सार्वजनिक गरिएको छ ।
ऋषिराज आचार्य निर्देशित फिल्मको उक्त गीतमा समीर आचार्य र बेनीशा पौडेलको स्वर, दीपक शर्माको संगीत छ । निर्देशक आचार्य र संगीतका शर्माको शब्द रहेको गीतको कोरियोग्राफी भिमफेदी गाइजले गरेको हो । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गायक समीर र गायिका बेनीशाले गीत गाएर सुनाएका थिए । संगीतकार दीपकले गीतमा अहिलेको पुस्ताको समसामयिकता प्रस्तुत गरिएको बताए । कार्यक्रममा निर्देशक आचार्यले ‘चुरीफुरी’ सामाजिक विषयको हास्यप्रधान फिल्म भएको बताए । उनले कोरोनाका कारण दिक्दार भएका दर्शकलाई आफ्नो फिल्मले भरपुर मनोरञ्जन दिने दाबी गरे । जुनियर अनमोल केसीका रुपमा परिचीत अभिषेक श्रेष्ठ प्रमुख भूमिकामा रहेको फिल्ममा रविन्द्र झा, शिशिर भण्डारी,दीपक आचार्य, सुरवीर पण्डित, रश्मी भट्ट, पवन खतिवडा (म्याकुरी), सुबोध गौतम (एदुमे), पूजा पन्त,सोना बज्राचार्य, रिन्जिन गुरुङ, राजीवजंग बस्नेत, तुलसीप्रसाद श्रेष्ठ, ऋतु आचार्यलगायतका कलाकारले अभिनय गरेका छन् ।
सञ्चारकर्मी लक्ष्मण सुवेदीले सञ्चालन गरेको कार्यक्रममा अभिषेकले आफूले बच्चैदेखि अभिनयमा करिअर बनाउने सपना बुनेको र पहिलो फिल्मस्वरुप ‘चुरीफुरी’ आउन लागेकोमा खुसी व्यक्त गरे । केही म्युजीक भिडियोमा अभिनय गरेको अभिषेकले यो फिल्मबाट दर्शकले आफूलाई अभिनेताका रुपमा समेत स्वीकार्ने विश्वास व्यक्त गरे । यही फिल्मबाट डेब्यु गरेका पूजा पन्त, सोना बज्राचार्य र रिन्जिन गुरुङले पनि आफूहरु फिल्मप्रति निकै आशावादी रहेको बताए । फिल्मका अर्का कलाकार राजीवजंग बस्नेतले पनि दर्शकलाई ‘चुरीफुरी’ ले भरपुर मनोरञ्जन दिने दाबी गरे । बोर्ड अध्यक्ष दाहालले चलचित्र क्षेत्र चलायमान बनाउन आफूहरु लागीपरेको बताउदै अहिलेको अवस्थामा फिल्म प्रदर्शन गर्न तयार भएका निर्माताहरुलाई बोर्डले सक्दो सहयोग गर्ने जानकारी दिए । उनले सबैको साथ, सहयोग र हौसलाले मात्रै नेपाली फिल्म फेरि जुर्मुराउने बताउँदै ‘चुरीफुरी’ लाई सफलताको शुभकामना व्यक्त गरे ।
कार्यक्रममा फिल्ममा अभिनित कलाकारहरु सुरवीर पण्डित (दारी बा),शिशिर भण्डारी, दीपक आचार्य (काकु), सुबोध गौतम (एदुमे) लगायतले पनि आफ्ना धारणा प्रस्तुत गरेका थिए । उनीहरु सबैले ‘चुरीफुरी’ ले फिल्म हेर्ने माहौल तताएर लग्ने विश्वास व्यक्त गरे । आरबी मुभीजको ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा निर्देशक आचार्य स्वयम् र रिना ढकाल छन् । राहुल राईले खिचेको फिल्मको सम्पादन नवीन निरौलाले गरेका हुन् । बिमला भुसाल, राजेन्द्र खाती र शिव थापा सहनिर्माता रहेको फिल्मलाई डिसिएनले वितरण गर्नेछ ।