काठमाडौँः नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीबाट सेयरधनीलाई नगद लाभांश प्रदान गर्दा सबै विवरण स्पष्ट हुने गरी बैङ्क खातामा पठाउन निर्देशन दिएको छ ।
नेप्सेमा सूचीकृत कम्पनीले आफ्ना सेयरधनीलाई प्रदान गरेको लाभांश सेयरधनीको बैङ्क खातामा जम्मा गर्दा बैङ्क स्टेटमेन्टमा सेयर रजिस्ट्रारको मात्र नाम आउने गरेका सन्दर्भमा बोर्डले सबै विवरण खुल्ने गरी लाभांश पठाउन निर्देशन दिएको हो । हालैका दिनमा कुन कम्पनीको, कुन आर्थिक वर्षको र कुन दरको लाभांश हो भन्ने स्पष्ट हुन नसकिएको भन्ने गुनासो आइरहेको छ ।
बोर्डले जारी गरेको निर्देशनानुसार अब कम्पनीले आफैँ वा आफ्ना सेयर रजिस्ट्रारमार्फत सेयरधनीका बैङ्क खातामा नगद लाभांश भुक्तानी गर्दा स्पष्ट रूपमा कम्पनीको नाम, आव, रकम आदि खुल्ने गरी पठाउनुपर्नेछ । साथै कम्पनीले यसरी लाभांश पठाउँदा क्लियरिङ हाउस लिमिटेडले तोकेका ढाँचामा सूचित गर्नुपर्ने विषयसमेत स्पष्ट खुलाउन बोर्डले निर्देशन दिएको छ । -रासस