इटहरीः खोटाङको दिक्तेलस्थित लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिनामा संलग्न व्यक्तिहरुको अचल सम्पत्ति रोक्का गरिएको छ ।

प्रदेश सहकारी रजिष्ट्रार कार्यालय, प्रदेश नं १. इटहरका सूचना अधिकारी मोहन भट्टराइले दिएको जानकारी अनुसार रकम हिनामिनासँग सम्बन्धित व्यक्तिहरुको अचल सम्पत्ति रोक्का गरिएको हो । कार्यालयले हालसम्मको सम्पत्ति र दायित्वको लेखापरीक्षण गराउने, साधारणसभा बोलाई ऋण लगानीसहित पाउनुपर्ने रकम असुलीको कार्य तदारुकताका साथ अघि बढाई सदस्यको बचत फिर्ता गर्ने लगायतका निर्णयहरु गराउने कार्य गरेको छ । सोमबार लालुपाते बहुद्देश्यीय सहकारीका सहकारी सञ्चालक र कर्मचारीसँग छलफल गर्दै प्रदेश सहकारी कार्यालय इटहरीले सहकारीले सदस्यहरुले बचत गरेको रकम तत्काल फिर्ता गर्न नसकेको अवस्थामा संस्थाको रकम हिनामिनासँग सम्बन्धित व्यक्तिहरुबाट असुल गरी सदस्यको बचतको सुरक्षा गर्न प्रदेश सहकारीले सहयोग गर्ने बताएको छ । 

प्रदेश १ मा रहेको प्रदेश सहकारी रजिष्ट्रार कार्यालय इटहरीका अनुसार अचल सम्पत्ति रोक्का गर्ने, हालसम्मको सम्पत्ति र दायित्वको लेखापरीक्षण गराउने र सहकारीको साधारणसभा तत्कालै बोलाउने गरी सहकारीलाई निर्देशन दिइएको छ । लालुपाते बहुउद्देश्यीय सहकारीले साधारणसभा बोलाई ऋण लगानीसहित सदस्यले पाउनुपर्ने रकम असुलीको कार्य तदरुकताका साथ अघि बढाई सदस्यको बचत फिर्ता गर्नेगरी निर्देशन दिइएको प्रदेश सहकारीले बताएको छ । ऋण नतिर्ने ऋणीको अचल सम्पत्ति रोक्का गर्ने लगायतका काममा प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयले सहयोग गर्ने प्रतिबद्धतासमेत दिएको प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका सूचना अधिकारी मोहन भट्टराईले बताए । कार्यालयले सहकारीलाई साधारणसभा बोलाएर साधारणसभाको निर्णयबमोजिम तत्काल रकम असुलीको कारबाही अगाडि बढाउन लालुपातेलाई भनेको छ ।

संस्थालाई पहिलेकै अवस्थामा सुचारु गर्नका लागि आवश्यक निर्देशन र सहजीकरण गर्ने प्रदेश सहकारीले बताएको छ । सर्वसाधरणको बचत फिर्ता गर्नसक्ने अवस्थमा संस्थालाई पुर्याउन सबै पक्षको सकारात्मक सहयोग पुग्ने प्रदेश सहकारीको अपेक्षा छ । खोटाङ्ग जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १ मा अवस्थित लालुपाते बहुउद्देश्यीय सहकारी संस्था २०७२ मङ्सिरमा दर्ता भएको संस्था हो । लालुपातेले आर्थिक वर्ष २०७६÷ ०७७ को लेखापरीक्षण सहितको प्रतिवेदन प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयमा नबुझाएको भन्दै प्रदेश सहकारीले गत असोज ४ गते सार्वजनिक सूचना प्रकाशन गरेको थियो ।