इटहरीः पाँचथरमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ ।

सोमबार बिहान ११ बजे फिदिम नगरपालिका वडा नम्बर ४ सखरखण्डेमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । मृत्यु हुनेहरुमा लेटाङ नगरपालिका वडा नम्बर ६ मोरङका ७ वर्षीय प्रज्वल मगर, इलाम बस्ने ३४ वर्षीया प्रमिला देवान, उनका ७ महिने छोरा निश्चल देवान र एक जना पहिचान खुल्न बाँकी महिला रहेको कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाले जानकारी दिए ।

मगरको पाथीभरा अस्पताल र बाँकी तीन जनाको समर्पित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । तिम्सिनाका अनुसार यासोकबाट फिदिम जाँदै गरेको को १ ख ३८६५ नम्बरको बस सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो । दुर्घटनाबाट बसमा सवार ६१ जना घाइते भएको उनको भनाइ छ । घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई थप उपचारको लागि झापा पठाइएको छ । सामान्य अवस्थाका घाइतेहरुको फिदिमस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।