इटहरीः भाटभटेनी सुपरस्टोर इटहरीले इटहरी उपमहानगरपालिकाको प्रकोप कोषमा ११ लाख रकम हस्तान्तरण गरेको छ ।
भाटभटेनी सुपरस्टोरका प्रवन्ध निर्देशक मीनबहादुर गुरुङका तर्फबाट प्रबन्धकद्वय लक्ष्मी गुरुङ र माया रानामगरले इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीलाई ११ लाख रकमको चेक हस्तान्तरण गरे । बिपतका बेलामा बाढीपीडितको उद्धार,राहत र पुनःस्थानाका लागि भाटभटेनीले गरेको सहयोगका लागि उपमहानगरका प्रमुख चौधरीले धन्यवाद ज्ञापन गरे । उनले बैंक तथा वित्तीय संस्थाहरुले पनि सहयोगको प्रतिबद्धता जनाएको बताए ।
यसैगरी बाढीले भत्काएका संरचना तिहारअघि नै बनाइसक्ने समेत मेयर चौधरीले बताए । क्षतिको विवरण जिल्ला प्रशासन कार्यालयमार्फत् संघीय सरकारमा पठाइने उनले उल्लेख गरे । स्थानीय सरकारको तर्फबाट बाढीपीडितले अनुभूत गर्नेगरी राहतका कार्यक्रम ल्याइने प्रमुख चौधरीको भनाइ छ । भाटभटेनी सुपर स्टोरका प्रबन्ध निर्देशक गुरुङले भाटभटेनी यहाँसम्म आउनुको कारण नै आम उपभोक्ता भएकाले उपभोक्तालाई समस्या परेका बेला सहयोग गर्नु व्यवसायीको कर्तव्य रहेको बताए ।