इटहरीः पाँचथरको फिदिम नगरपालिका–४ सरखण्डेमा आज बिहान भएको बस दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने ६५ जना घाइते भएका छन् । मृत्यु हुनेहरुमा उपचारका लागि समर्पित अस्पताल पु¥याइएका एक बालक र एक महिला रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार उनीहरुको सनाखत भने भएको छैन । दुर्घटनामा परी १५ जनमा बालबालिका घाइते भएको उनको भनाइ छ ।
घाइतेमध्ये पाँचथर जिल्ला अस्पतालमा उपचाररत चार जनालाई झापा पठाइएको जिल्ला अस्पतालका सूचना अधिकारी नारायण जोशीले जानकारी दिए । जिल्ला अस्पतालसहित समर्पित र पाथीभरा अस्पतालमा उपचाररत थप १० जनालाई अन्यत्र पठाउने तयारी गरिएको छ । घाइतेमध्ये समर्पित अस्पालतमा उपचाररत तीन जना सामान्य उपचारपछि घर फर्केका छन् । फिदिम–४ शिवादोभानबाट झापाका लागि छुटेको को१ख ३८६५ नम्बरको बस बिहान करिब ११ः३० बजे सडकबाट झरेर दुर्घटना भएको थियो । अर्को सवारी साधनलाई उछिन्ने क्रममा सडकको डिलबाट बस अगाडि बढ्दा करिब २० मिटर तल झरेको हो । जिल्लाको कुम्मायक, तुम्बेवा र फाल्गुनन्द गाउँपालिकाका यात्रु सवार रहेको बस दुर्घटना हुँदा सबै यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।