इटहरीः इटहरी उपमहानगरपालिका वडा नम्वर १४ का वडाध्यक्ष रमेश चौधरीले ५० लाख रुपैयाँभन्दा बढी मूल्यको साढे २१ धुर जग्गा वडा कार्यालय भवन निर्माणका लागि प्रदान गरेका छन् ।
स्वर्गीय पिता उमालाल चौधरीको स्मृति र आमा चेपरीदेवी थरुनीको नाममा वडाध्यक्ष चौधरीले सो जग्गा प्रदान गरेका हुन् । सोही जग्गामा उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले वडा कार्यालय भवन शिलान्यास गरेका छन् । १ करोड २२ लाख,५२ हजार २ सय ३१ रुपैयाँको लागत अनुमान रहेको वडा कार्यालय भवन निर्माण कम्पनीले ७८ लाख ८३ हजार २ सय २३ रुपैयाँमा सकार गरेपछि निर्माण सुरु गरिएको उपमहानगरपालिकाका इन्जिनियर अरुण राजलवजले जानकारी दिए ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख चौधरीले अहिलेका जनप्रनिधिले बन्न लागेको भवनबाट सेवा दिएरै बिदा हुनेगरी भवन निर्माण गर्न निर्माण कम्पनीलाई निर्देशन दिए । निर्माण सामग्री र निर्माणको गुणस्तरमा कुनै सम्झौता नहुने प्रमुख चौधरीले बताए । सो अवसरमा उनले वडामा बाढीले भत्काएका बाटोहरु तिहारअघि नै बनाइसक्न निर्देशन दिए । वडाध्यक्ष रमेश चौधरीले पछाडि पारिएका ठाँउहरुमा सबैले आआफ्नो ठाँउबाट योगदान गर्न सके विकासमा टेवा पुग्ने बताए । निर्माण सुरु गरिएको भवन पूरा भएपछि सो भवनबाट जनताले छिटोछरितो सेवा पाउने विश्वास उनले व्यक्त गरे । वडा सदस्य दुःखीलाल चौधरीले समयमै वडा कार्यालय भवन निर्माण हुनुपर्नेमा जोड दिए । ठेकेदार कम्पनी अग्नि एण्ड सन्स झापाका नरेन्द्र चौलागार्इँले समयमै भवन निर्माण गरिसक्ने प्रतिबद्धता व्यक्त गरे ।