इटहरीः नेकपा एमालेको धरान उपमहानगर कमिटीमा गुटबन्दी चरमोत्कर्षमा पुगेको छ । दुई गुटबीच बढेको मनोमालिन्यका कारण आसन्न अधिवेशनसमेत आआफ्नै ढङ्गले छुट्टाछुट्टै स्थानमा आयोजना गर्ने दुवै गुटको योजना रहेको छ ।
दुवै गुटले आआफ्नै ढङ्गले आफ्नै गुटको मात्र अधिवेशनको प्रचारप्रसार गरिरहेका छन् । अधिवेशनमै नेतृत्व विभाजनतर्फ उन्मुख भएपछि कार्यकर्ताहरुले भने असन्तुष्टि जनाएका छन् । अधिवेशन नै बहिष्कार गर्ने चेतावनीसमेत आम कार्यकर्ता पङ्क्तिबाट आउन थालेको छ । वडा नंं १३ र १६ का वडा कमिटी अध्यक्षहरुले विज्ञप्ति नै जारी गरि वडाबाट कुनै पनि प्रतिनीधि नपठाउने चेतावनी दिएका छन् । शनिबार सम्पन्न वडा अधिवेशनबाट निवार्चित १३ र १६ नम्बर वडा कमिटीका अध्यक्षद्धय घनश्याम तिम्सिना र दिलकुमार गिरीले आज संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिनीधि नपठाउने चेतावनी दिएका हुन् । दुवै अध्यक्षले नेताहरुको स्वार्थको लागि कार्यकर्ताहरुलाई अन्योलमा राखेर दुई स्थानमा नगर अधिवेशन तोकिएको भन्दै आम पार्टी कार्यकर्ताहरुको चाहनाविपरीत यस प्रकारले अधिवेशन गरिए आफ्ना कार्यकर्ताहरु अधिवेशनमा उपस्थित नहुने उल्लेख गरेका छन् । यस्तै धरानमा दुई स्थानमा छुट्टाछुटै अधिवेशन गर्ने पत्र सामाजिक सञ्जालमा आएपछि कार्यकर्ताहरुले नेतृत्वको तिव्र आलोचना गदैं सच्चिन चेतावनी दिएका छन् ।
एउटै स्थानमा कार्यक्रम गरेर नेतृत्व चयन गर्नसमेत उनीहरुले सुझाव दिएका छन् । युवा संघका नेता तथा नगर कमिटी सदस्य ठाकुर कार्कीले पार्टी सहमतिमा एक ढिक्का होस् भन्नेमा दृढ रहेको बताउँदै आफू नगरका नेताहरुले देखाएको जात्रामा सहभागी नहुने कुरा सामाजिक सञ्जालमा लेखेका छन् । यस्तै धरान उपमहानगरपालिकाका न्यायपालिका सदस्य तथा ३ नं. वडाका एमाले नेता विकास बनेपालीले धरानमा एमाले नेताहरुले गरेको नाटक तत्काल बन्द गराउन प्रदेश, जिल्लाका नेताहरुलाई सामाजिक सञ्जालबाटै आग्रह गरेका छन् । नेकपा एमाले धरान–१३ मा भरखरै सचिवको जिम्मेवारी पाएका विष्णु चौलागाईले एक भएर अधिवेशन गर्न सुझाव दिएका छन् । ‘के नेकपा एमाले सक्ने विचार हो । तिमीहरुको ब्यक्तिगत स्वार्थको लागि कहिलेसम्म सति जाने कार्यकर्ताले ? यो जुँघाको लडाइँ कहिले बन्द गर्छौ ? न कार्यकर्ताको इच्छा चाहाना बुझ्ने प्रयास गर्छौ न सुझाव लिन्छौ न नेताले भनेकै मान्छौ आखिर के पाउन कस्को स्वार्थमा यो सब गर्दै छौ । किन यो तल्लोस्तरमा गिर्दैछौ नालायक हो ।’ चौलागाईँले फेसबुकमा लेखेका छन् ।
पछिल्लो जानकारी अनुसार अन्य वडाहरु २, ७, १२, १४, १५ र १८ नंं वडाहरुले पनि नगर अधिवेशनमा प्रतिनिधि नपठाउने बताएका छन् । २०७५ जेठ २ अघिका धरान उपमहानगर कमिटीका कार्यवहाक अध्यक्ष नारायण सुवेदीले होटल इजिराइडरमा भोलि अधिवेशन रहेको जानकारी दिँदै उपस्थितिको लागि अनुरोध गरेको पत्र सामाजिक सञ्जालमा आएको छ । यस्तै ओली गुटबाट बनाइएको कमिटीका अध्यक्ष हर्कजंग एभेङले धरानको सैनिक भवनमा अधिवेशन रहेको सूचना सामाजिक सञ्जालमा आएको छ । नेकपा एमालेका नगरस्तरीय नेता राजमणि निरौलाले भने छुट्टाछुट्टै अधिवेशन आह्वान गरिएको भएपनि एकताबद्ध रुपमा एउटै स्थानबाट अधिवेशन सम्पन्न गर्ने पहल भइरहेको जिकिर गरेका छन् ।