इटहरी: विपन्न वर्गमा दिनैपर्ने कर्जा नदिएका कारण नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा ५ फाइनान्स कम्पनीलाई कार्बाही गरेर ५५ लाख ७६ हजार रुपैयाँभन्दा बढी जरिवाना तिराएको छ ।
केन्द्रीय बैंकले तोकेअनुसार विपन्न वर्गमा कर्जा लगानी नगरेको, न्यूनतम मौज्दात कायम नगरेको र पूँजी, निक्षेप र कर्जाको अनुपात कायम नगरेको भन्दै जम्मा ८ वटा फाइनान्स कम्पनी राष्ट्र बैंकको कारबाहीमा परेका हुन् । केन्द्रीय बैंकका अनुसार फाइनान्स कम्पनीहरुले सबैभन्दा बढी जरिवाना विपन्न वर्गमा कर्जा लगानी नगरेबापत तिरेका छन् । राष्ट्र बैंकको व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो कुल लगानीको कम्तीमा ५ प्रतिशत कर्जा विपन्न वर्गमा लगानी गर्नुपर्ने प्रावधान छ । यसरी तोकिएको कर्जा प्रवाह नगरी ललितपुर फाइनान्स एक्लैले ३ पटक कारबाही व्यहोरेको छ ।यसैगरी सीसीडी अनुपात कायम नगरेकोमा पनि ललितपुर फाइनान्सले ६४ हजार ५७२ रुपैयाँ जरिवाना तिर्न बाध्य भएको छ ।
अनिवार्य नगद मौज्दात कायम नगरेको भन्दै केन्द्रीय बैंकले समृद्धि फाइनान्सबाट १३८ रुपैयाँ र गुडविल फाइनान्सबाट २ हजार ८०७ रुपैयाँ जरिवाना असुल गरेको छ । फाइनान्स कम्पनीहरुले निक्षेपको ३ प्रतिशत अनिवार्य नगद मौज्दात (सीआरआर) कायम गनुपर्ने व्यवस्था रहेको छ । सबैभन्दा बढी जरिवाना तिर्नेमा ललितपुर फाइनान्स रहेको छ । कम्पनीले चार पटक गरी २१ लाख तिरेको छ । तीन पटक विपन्न वर्ग कर्जा सीमाअनुसार नपुर्याएको भन्दै २० लाख ५६ हजार र एक पटक सीसीडी रेसियो कायम नगरेको भन्दै ६४ हजार ५७२ रुपैयाँ जरिवाना तिरेको हो । यस्तै जानकी फाइनान्सले समेत तोकिएअनुसार विपन्न वर्गमा कर्जा लगानी नगर्दा ३१ लाख ९२ हजार ३०८ रुपैयाँ जरिवाना तिरेको छ ।