इटहरीः सुनसरीको रामधुनी नगरपालिकाले चालु आर्थिक वर्षको सुरुबाटै शिक्षक कर्मचारीको तलबभत्ता नदिएको भन्दै रामधुनी नगरपालिका भित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीले आन्दोलन थालेका छन् ।
शिक्षकका पेसागत सँस्था र पधानाध्यापक र शिक्षकहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आइतबारबाटै आन्दोलन सुरु गरेको बताएका छन् । विज्ञप्ति अनुसार रामधुनी नगर क्षेत्रका शिक्षकहरुले आइतबार १ घण्टा रामधुनी नगरपालिकाको सम्पूर्ण काम रोकेर विरोध जनाएका थिए भने सोमबार भने नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, लेखा शाखा र शिक्षा शाखामा तालाबन्दी गर्ने बताएका छन् । नगरपालिकाले आन्तरिक प्रक्रियाको कारण देखाउँदै शिक्षक कर्मचारीले पाउने साउन महिनादेखिको तलबभत्ता अहिलेसम्म भुक्तानी गरेको छैन । शिक्षकहरुको आन्दोलनको कार्यक्रममा सोमबार ११ बजे पत्रकार सम्मेलन गर्ने र १२ बजे नगरपालिकाका प्रमुख सहित विभिन्न कार्यालयमा तालाबन्दी गर्ने र आगामी आन्दोलनका कार्यक्रमसमेत सोमबार नै तर्जुमा गर्ने बताइएको छ ।
नेपाल राष्टिय शिक्षक संगठन रामधुनी, नेपाल शिक्षक संघ रामधुनी, नेपाल राहत शिक्षक समिति रामधुनीका अध्यक्ष, विद्यालय कर्मचारी युनियन रामधुनीका अध्यक्ष र विभिन्न विद्यालयका प्रधानाध्यापक गरी २३ जनाले हस्ताक्षर गरेको विज्ञप्तिमा निकासा हँुदै आएको चौमासिक तलब निकासा नगरिएको र महान चाड बडादसैँमा समेत निकासाको व्यवस्था नमिलाइएको बताइएको छ । जारी विज्ञप्ति अनुसार नगरपालिकाले आफ्ना असक्षमता लुकाउन तलबको विषयमा कुरा गर्दा विभिन्न बहानाबाजी गर्दै टार्ने गरेको छ । विज्ञप्तिमा नगरपालिकाले अमानवीय कार्य गरेको भन्दै त्यसको भत्र्सनासमेत गरिएको छ ।