इटहरीः गत कात्तिक १ र २ गते भएको बेमौसमी वर्षाका कारण आएको बाढी तथा डुबानमा सुनसरीका अधिकांश स्थानीय तह परेका छन् ।
सुनसरीको इटहरीमा आयोजित एक कार्यक्रममा बोल्दै जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जिल्लाका १२ स्थानीय तहका ७२ वटा वडामा बेमौसमी वर्षाले बितण्डा मच्चाएको जानकारी दिएका छन् । सुनसरीमा रहेका सप्तकोसी, सेउती, बुढी खोला र सुनसरी खोलामा आएको बाढीले जिल्लामा प्रभाव परेको उनले जानकारी दिए । उनले बाढी, पहिरो र डुबानबाट सुनसरीका कुनै स्थानीय तह अछुतो नरहेको जानकारी दिए । उनका अनुसार धरान उपमहानगरपालिका वडा नम्बर ६ र १३, इटहरी उपमहानगरपालिकाको २० वटै वडा, इनरुवा नगरपालिकाको वडा नम्बर ३, ४, ७, ८, ९ र १०, वराहक्षेत्र नगरपालिकाको वडा नम्बर १, ४, ६ र ८, दुहबी नगरपालिकाको सबै वडाहरु विशेषतः वडा नम्बर ४ र ९ तथा रामधुनी नगरपालिकाको वडा नम्बर १, २, ४, ५, ६ र ७ बाढी, डुबान तथा कटानको प्रभावमा परेका छन् ।
यस्तै बर्जु गाउँपालिकाको वडा नम्बर २, ३, ५ र ६, गढी गाउँपालिकाको वडा नम्बर २, ३, ४, ५ र ६, कोसी गाउँपालिकाको ४, ६ र ७, हरिनगरा गाउँपालिकाको वडा नम्बर १, २, ४, ६ र ७, देवानगञ्ज गाउँपालिकाको १, २, ३, ४, ५, ६ र ७ तथा भोक्राहानरसिंह गाउँपालिकाको ८ वटै वडाहरुले बेमौसमी वर्षाको ताण्डव खेप्नुपरेको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए । यस्तै, जिल्लामा १० जनाको बाढीपहिरोमा परेर मृत्यु भएको उनले जानकारी दिए । मृत्यु हुनेमा २ जना बाढी र २ जना पहिरोमा गरी ४ जना धरान उपमहानगरपालिकाका र इटहरी उपमहानगरपालिकाका ५ जना र भोक्राहानरसिंह गाउँपालिकाका एक जना रहेका उनले बताए । मृत्यु हुनेमा एक जना महिला र नौ जना पुरुष रहेको उनले जानकारी दिए । बेमौसमी वर्षाका कारण जिल्लाका १४ हजार २ सय ६९ घरधुरी प्रभावित बनेका छन् । यस्तै ६ हजार ८ सय ६२ घरधुरीका साढे १८ हजार जनसंख्या प्रभावित विस्थापित भएको उनले जानकारी दिए ।
अहिले विस्थापितहरु मठमन्दिर र विद्यालयहरुमा आश्रय लिएर बसेको उनले जानकारी दिए । जिल्लामा भौतिक र मानवीय क्षतिसँगै धनको पनि ठूलो क्षति भएको उनले जानकारी दिए । तीन करोड ६६ लाख मुल्य बराबरको घरपालुवा पशुपक्षी नष्ट भएको उनले जानकारी दिए । यस्तै जिल्ला ५३ हेक्टर क्षेत्रफलमा भएको खेतिबाली मध्ये करिब ९ हजार हेक्टर क्षेत्रमा बाढी तथा डुबानले प्रभाव परेको उनले बताए । नेपाल विद्युत प्राधिकरणको दुहबी ग्रीड र हुलाकी राजमार्गको हरिनगरा खण्डमा तथा जिल्लाका विभिन्न ठाउँमा रहेको मुख्य तथा ग्रामीण सडकमा पनि क्षति पुगेको उनले जानकारी दिए ।