इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका १६ बाट प्रहरीले दुई करोड ३६ लाखभन्दा बढी मूल्यको जग्गा अर्कैको नाममा पारेर ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–१६ घर भई हाल इटहरी उपमहानगरपालिका–८ मा बसोबास गर्ने ४३ वर्षीय भक्तबहादुर राई रहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक अर्जुन केसीले जानकारी दिए । उनका अनुसार अभियुक्त राईले इटहरी–६ की ६१ वर्षीया एकल महिलालाई श्रीमानको नाममा रहेको करिब दुई करोड ३६ लाख ९८ हजार रुपैयाँ बराबरको घरजग्गा पास गराइदिन्छु भनी अकैं व्यक्तिको नाममा पास गराई रकम ठगी गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका राईउपर ठगी मुद्दामा कारबाहीका लागि जिल्ला अदालत सुनसरीको आदेशमा हिरासतमा राखी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।