इटहरीः वाणिज्य बैंकहरूले मुद्दति निक्षेप र बचत खातामा प्रदान गर्ने ब्याज प्रतिस्पर्धात्मक रुपमा बढाएपछि नेपाल राष्ट्र बैंकले त्यसमा अङ्कुश लगाएको छ ।

वाणिज्य बैंकहरुले बैंकमा लगानीयोग्य तरलताको अभाव भएको भन्दै निक्षेप बढाउन आफ्नो ब्याजदर बढेको देखाई एकाएक दोहोर अङ्कको ब्याजदर घोषणा गरेका थिए । कार्तिक १ गतेसम्म ब्याज सार्वजनिक गर्न भ्याइनभ्याई भएका वित्तीय सँस्थालाई २ गते नै राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशनले फेरि ब्याजदर घटाउन बाध्य बनाएको छ । अहिले प्राय सबै बैंकले अधिकतम ब्याजदर एकल अङ्कमा झारेका छन् । नेपाल राष्ट्र बैंकको हस्तक्षेपपछि वाणिज्य बैंकहरूले कात्तिक महिनाका लागि यसअघि जारी गरेको ब्याजदर संशोधन गर्दै एकल अङ्कमा झारेका हुन् । वाणिज्य बैंक मात्र नभएर विकास बैंक र फाइनान्स कम्पनीले पनि मुद्दति निक्षेपको ब्याजदर एकल अङ्कमा झारेका छन्, जुन बुधबार र बिहीबारदेखि नै लागू हुनेगरी सार्वजनिकसमेत भएको छ । 

निक्षेपलाई आफ्ना पक्षमा पार्न वाणिज्य बैंकबीच ब्याज बढाउने प्रतिस्पर्धा नै भएको थियो जसमा एनआईसी एसिया बैंकले ११ दशमलव १० प्रतिशतसम्म ब्याज दिने योजना सार्वजनिक गरेको थियो । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय सँस्थालाई अघिल्लो महिनाभन्दा १० प्रतिशतभन्दा बढीले ब्याज बढाउन नपाउने भन्दै अङ्कुश लगाइदिएपछि बैंकहरुले धमाधम नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । संशोधित ब्याजदरअनुसार अब वाणिज्य बैंकहरूले निक्षेपमा अधिकतम ९ दशमलव ३६ प्रतिशतसम्म ब्याज दिनेछन् । यसैगरी विकास बैंकहरूले ९ दशमलव ५० र फाइनान्स कम्पनीहरूले ९ दशमलव ६० प्रतिशतको अधिकतम ब्याजदर निर्धारण गरेका छन् । संशोधित ब्याजदरमा सरकारी लगानीका बैंक नेपाल बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंकले ८ दशमलव ३६ प्रतिशत ब्याज प्रदान गर्नेछन् भने कृषि विकास बैंकले भने ८ दशमलव ८५ प्रतिशत ब्याज प्रदान गर्नेछ । धेरैजसो वाणिज्य बैंकले मुद्दति निक्षेपमा ९ दशमलव ३६ प्रतिशत व्याज दिने घोषणा गरेका छन् भने थोरै ब्याज दिनेमा स्टान्डर्ड चार्टर बैंकले ७ दशमलव दिने भएको छ ।

प्रभु बैंकले ८ दशमलव ५७, सिटिजनले ८ दशमलव ८ र सनराइज बैंकले ९ दशमलव ६ प्रतिशत ब्याज दिने भएको छ । उता लक्ष्मी बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकले भने ९ दशमलव ३५ प्रतिशत ब्याज दिने भएका छन् । बैंकिङ क्षेत्रमा तरलताको अभाव कायमै भएपछि कात्र्तिकका लागि ७ वाणिज्य बैंकले मात्र दोहोरो अङ्कको निक्षेप ब्याजदर निर्धारण गरेका थिए । केही वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले पनि निक्षेपको ब्याजदर दोहोरो अङ्कमा पु¥याएका थिए । यसैगरी, अन्य बैंक तथा वित्तीय संस्थाहरूले पनि ब्याजदर ह्वात्तै बढाएका थिए । खासमा तरलताको अभाव भएपछि बैंकहरूले असोजदेखि ब्याजदर बढाउन थालेका थिए । असोजमा सनराइज बैंकले मात्र दोहोरो अंकको अर्थात् १० दशमलव ०७ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । कात्र्तिकमा आएर सनराइजले ब्याजदर एकल अङ्कमा ल्याएपनि अधिकांश बैंक तथा वित्तीय सँस्थाहरूले आफूखुसी ब्याजदर बढाएर दोहोरो अङ्कमा पु¥याएका थिए ।

कोरोना महामारी बिस्तारै हट्दै गएकाले बजारमा कर्जाको माग बढेको र लगानीयोग्य पूँजीको कमी भएकाले निक्षेप आकर्षित गर्न ब्याजदर बढाउनु परेको बैंकरहरुको भनाइ छ । यसरी बैंकहरूले जथाभावी ब्याजदर बढाउन थालेपछि राष्ट्र बैंकले गत मङ्गलबार मासिक रूपमा १० प्रतिशतले मात्रा ब्याजदर तलमाथि गर्न निर्देशन दिएको थियो । साथै, कात्र्तिकका लागि निर्धारण गरिएको ब्याजदर तत्काल संशोधन गर्न पनि निर्देशन दिएको थियो । त्यतिले मात्र नपुगेर राष्ट्र बैंकका अधिकारीहरूले बुधबार बैंक तथा वित्तीय सँस्थाका प्रमुख कार्यकारी निर्देशकहरूलाई फोन नै गरेर ब्याजदरका सीमा नै तोकिदिएका थिए । राष्ट्र बैंकले ब्याजदरमा हेरफेर गरी नयाँ ब्याजदर दैनिक पत्रपत्रिकामा प्रकाशनसमेत गर्न भन्दै निर्देशन जारी गरेपछि बैंक तथा वित्तीय सँस्थाहरु दोहोरो अङ्कको ब्याजदरबाट पछि हटेका हुन् ।

अहिले आएर बैंक तथा वित्तीय सँस्थाहरूले सोहीअनुसार नै नयाँ ब्याजदर लागु गरेका हुन् । ब्याजदर घटेसँगै अब उद्योग व्यवसाय गर्नेहरूलाई सहजता हुने अपेक्षा गरिएको छ । बैंकमा ब्याज बढेको विषयलाई लिएर शेयर बजारमा लगानीकर्ताहरुसमेत एक हिसाबले आन्दोलन नै गरिरहेका थिए । निक्षेपको ब्याजदर घटेसँगै कर्जाको ब्याजदर पनि घट्ने भएपछि उद्योगीव्यापारी पनि खुसी भएका छन् ।