इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका १७ स्थित लविपुर तरहरा भित्री सडकखण्डबाट प्रहरीले अवैध लागूऔषध ब्राउनसुगरसहित एक दम्पत्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा इटहरी उपमहानगरपालिका वडा नम्बर १४ बस्ने शिवे सरदार र उनकी श्रीमती सगुन माझी सरदार रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले ब्राउनसुगर बिक्री गरिरहेको अवस्थामा शिवेलाई पक्राउ गरेको थियो । उनीमाथि प्ररम्भीक अनुसन्धान गरी प्रहरीले उनकी श्रीमती सगुनलाई पक्राउ गरेको एसपी राईले जानकारी दिए ।

उनीहरूका साथबाट ४१ ग्राम ५९० मिलिग्राम ब्राउनसुगर बरामद भएको छ । साथै ब्राउनसुगरकै बिक्रीबाट पाएको १५ हजार ७१० रुपैयाँ र नापतौल गर्ने डिजिटल काँटा पनि बरामद भएको एसपी राईले बताए । पक्राउ परेका दुवै अभियुक्तहरुलाई जिल्ला अदालत सुनसरीको आदेशमा लागूऔषध नियन्त्रण ऐन २०३३ अन्तर्गत कारबाहीका लागि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।