इटहरीः प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको सत्ता लम्ब्याउने ध्येयलाई सहयोग पुग्नेगरी प्रदेशसभा बैठक स्थगित गरिएको छ ।
मुख्यमन्त्री आचार्यले विश्वासको मत लिनका लागि आज अपराहन्न १२ः३० बजेका लागि आह्वान गरिएको प्रदेशसभाको नवौँ अधिवेशनको बैठक प्रधानमन्त्री तथा प्रदेशको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पूर्वाञ्चल भ्रमण र सत्ताधारी दल नेकपा एमालेको जारी अधिवेशनको बहानामा स्थगित गरिएको हो । कांग्रेस र एमालेको आग्रहपछि आज बस्ने भनिएको बैठक २०७८ कात्तिक १५ गते सोमबार अपराहन्न १२ः३० बजे बस्नेगरी स्थगित गरिएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले बताए । तर, बैठक स्थगित गर्नुको मुख्य कारण भने नेपाली कांग्रेसका केही सांसदहरुले फ्लोर क्रस गरेर वर्तमान मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिनसक्ने विषय सार्वजनिक हुनु रहेको प्रदेशसभासम्बद्ध स्रोतले बताएको छ । मुख्यमन्त्री आचार्यमाथि अविश्वास प्रस्ताव दर्ता गराएको विपक्षी गठबन्धनले भावी मुख्यमन्त्रीको नामसमेत टुङ्गो लगाएको छ । अविश्वास प्रस्तावउपर मतदान सम्पन्न हुनासाथ विपक्षी गठबन्धनका तर्फबाट राजेन्द्र राईलाई मुख्यमन्त्री नियुक्तिका लागि सिफारिस गरिने नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले बताए । भदौ १० गते मुख्यमन्त्री बनेका आचार्य नेकपा एमाले विभाजित भई नेकपा समाजवादीको उदय भएसँगै अल्पमतमा परिसकेकाले उनले विश्वासको मत नपाउने निश्चित छ ।
यसै कारणले मुख्यमन्त्री आचार्य विश्वासको मत लिने प्रस्ताव जतिसक्दो ढिलो दर्ता गरेर आफ्नो आयु लम्ब्याउने रणनीतिमा लाग्दा प्रस्तावमाथि छलफलको मिति दसैँको बिदापछिका लागि धकेलिएको हो । सरकार नेतृत्व गरिरहेको दल फुटेपछि संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले ३० दिनभित्र विश्वासको मत लिनका लागि प्रस्ताव लैजानु पर्ने प्रावधान छ । ९२ जना सांसद रहेको प्रदेश १ मा प्रतिपक्षी दलसँग ५० सांसद छन् । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेसँग जम्मा ४१ सांसदमात्रै छन् । बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ जुन संख्या जुटाउनु मुख्यमन्त्री आचार्यका लागि असम्भवप्रायः छ ।