इटहरीः सरकारले बाढी पहिरोबाट भएको क्षतिलाई गम्भीरतापूर्वक लिएकाले तत्काल ‘राहत प्याकेज’ ल्याउने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।
आज गत सोमबार भएको बेमौसमी वर्षाका कारण प्रदेश १ का जिल्लामा परेको क्षतिको निरीक्षण गर्न इटहरी आएका प्रधानमन्त्री देउवाले सरकारले ‘रिलिफ प्याकेज’ ल्याउने जानकारी दिएका हुन् । उनले अहिले सरकारको प्राथमिकता नै बाढी पहिरोबाट परेको क्षति न्यूनीकरणमा रहेको बताए । ‘पहिलो कुरा रेश्क्यू, रिलिफ (उद्धार र राहत) गर्ने हो’, प्रधानमन्त्री देउवाले भने, ‘उनीहरुलाई (प्रभावितलाई) तत्काल खाने र बस्ने व्यस्था गर्नुपर्छ । र, अहिले पाला टाँगेर राखेका छौँ । खानाको व्यवस्था गरेका छौँ ।’
तत्काल तीनै तहका सरकारको अन्तरसमन्वयबाट उद्धार, राहत र उपचारमा सरकारको ध्यान गएको प्रधानमन्त्री देउवाले बताए । प्रधानमन्त्री देउवासँगै संघीय सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानीप्रसाद खापुङ र पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छादर पनि क्षतिको निरीक्षण गर्न प्रदेश १ आएका थिए । प्रदेश १ सरकारका मुख्यसचिवले प्रदेशमा बाढीपहिरोले पारेको प्रभावका बारेमा प्रधामन्त्रीसमक्ष जानकारी गराएका थिए । प्रदेशमा ४६ जना पुरुष र २६ जना महिला गरी ७२ जनाको बाढीपहिरोबाट मृत्यु भएको उनले जानकारी दिए । यस्तै, सुनसरी र सप्तरीका प्रमुख जिल्ला अधिकारीले जिल्लामा भएको बाढीपहिरोको क्षतिको विषयमा जानकारी गराएा थिए ।