इटहरीः नेपाली कांग्रेसको धनकुटाको साँघुरीगढी नगरपालिका १० नम्बर वडा सभापति झगेन्द्र राईको हत्या भएको हुनसक्ने भन्दै दोषीमाथि कारबाही गर्न पार्टीको प्रदेशसभा क्षेत्रीय कार्यसमितिले माग गरेको छ ।

सोही वडाको आहालेस्थित चिराङ घर भई हाल सुनसरीको धरान उपमहानगरपालिका ११ बस्दै आएका ४३ वर्षीय राई छोरालाई लिएर मंगलबार दिउँसो आहालेस्थित गाउँ आएकोमा सोही दिन साँझ मोटरसाइकलसहित बाढीमा परी बेपत्ता भएका राईको शव भोलिपल्ट अर्थात् बुधबार धरान २० स्थित धरान आहाले सडकखण्डमा पर्ने खैरेनी खोलामा फेला परेको थियो । तर कांग्रेस क्षेत्रीय कार्यसमितिले भने शव फेला परेको स्थानको अवस्था, वस्तुस्थिति, शवको अवस्था, घटनाको प्रकृति आदिलाई हेर्दा वडा सभापति राईको रहस्यमय तथा शंकास्पद तरिकाले मृत्यु भएको वा कसैले कर्तव्य गरी मारेको देखिएकाले निष्पक्ष छानबिन हुनुपर्ने माग गरेको हो । प्रदेशसभा क्षेत्रीय कार्यसमिति क का सभापति जितेन्द्र राई र सचिव रमेश श्रेष्ठले विज्ञप्ति जारी गर्दै छानबिनबाट दोषी देखिएका व्यक्तिलाई कानूनबमोजिम कडा कारबाही गर्न प्रहरी र प्रशासनसँग माग गरेका छन् ।

245609244_366792571861854_9090318867818954184_n

प्रहरीले शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएकोमा सोको भोलिपल्ट अर्थात् बिहीबार सम्पूर्ण कानूनी प्रकृया सम्पन्न गरी झगेन्द्रको दाहसँस्कारको तयारी गरियो । तर, श्रीमानको मृत्युपछि शोकका कारण अचेत बनेकी उनकी श्रीमति अनुको पनि अस्पताल पुर्याउन नपाउँदै मृत्यु हुन गयो । यसरी श्रीमान र श्रीमति दुवैको एकैसाथ मृत्यु भएपछि बिहीबार दिउँसो दुवै जनाको एकैसाथ अन्त्येष्टि गरिएको थियो । झगेन्द्रलाई पार्टीको झन्डा ओढाएर ससम्मान अन्त्येष्टि गरिएको नेपाली कांग्रेसका क्षेत्रीय सभापति जितेन्द्र रुम्दालीले जानकारी दिए । अन्त्येष्टि कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका सचिव विजयसन्तोषी राई, कोषाध्यक्ष दिनेश राई लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । मृतक दम्पत्तिका एक छोरा र एक छोरी रहेका छन् ।