इटहरीः सरकारी छाप र हस्ताक्षर किर्ते गरेको आरोप लागेकी प्रदेश १ की नेकपा एमाले तर्फकी प्रदेशसभा सदस्य गुलेफुन खातुन मियाँलाई गिरफ्तार गर्न प्रहरीले सक्रियता बढाएको छ ।
प्रदेश का वर्तमान मुख्यमन्त्री भीम आचार्यविरुद्ध प्रदेशसभामा दर्ता भएको विश्वासको मतको प्रस्तावउपर आज हुने भनिएको मतदानमा सहभागी हुन खातुन पनि प्रदेशसभामा उपस्थित हुने हल्ला चलेपछि प्रहरीले सक्रियता बढाएको हो । उच्च अदालत विराटनगरले खातुनलाई दोषी ठहर गरी एक वर्ष कैद र १४ हजार ५८३ जरिवानाको सजाय सुनाएलगत्तै उनी फरार भएकी छन् । समानुपातिक कोटामा मोरङबाट प्रदेसभा सदस्य बनेकी खातुनलाई प्रहरीले लामो समयदेखि खोजिरहेको छ । उहाँ लामो समयदेखि प्रदेश सभाको बैठकमा आउनु भएको छैन,’ जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) जनार्दन जिसीले भने, ‘उहाँबारे हामी अलर्ट छौँ ।’ फरार सासद भेटे के गर्नुहुन्छ ? भन्ने प्रश्नमा उनले थपे, ‘यसै गर्छौ भनेर अहिले भन्न मिल्दैन । तर प्रहरीले आफ्नो सुर छोड्दैन ।’
आज अपराहन्न १२ः३० बजे प्रदेशसभा बैठकमा प्रस्तावमाथि छलफल प्रारम्भ भई मत विभाजन सम्पन्न हुने प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए । यसैबीच, मुख्यमन्त्री आचार्यमाथि अविश्वास प्रस्ताव दर्ता गराएको विपक्षी गठबन्धनले भावी मुख्यमन्त्रीको नामसमेत टुङ्गो लगाएको छ । अविश्वास प्रस्तावउपर मतदान सम्पन्न हुनासाथ विपक्षी गठबन्धनका तर्फबाट राजेन्द्र राईलाई मुख्यमन्त्री नियुक्तिका लागि सिफारिस गरिने नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले बताए । ‘मतदानपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्नुहुन्छ,’ उनले भने, ‘गठबन्धनले मुख्यमन्त्रीको रूपमा राजेन्द्र राईलाई अघि सार्नेछ ।’ भदौ १० गते मुख्यमन्त्री बनेका आचार्य नेकपा एमाले विभाजित भई नेकपा समाजवादीको उदय भएसँगै अल्पमतमा परिसकेकाले उनलेविश्वासको मत नपाउने निश्चित छ ।
यसै कारणले मुख्यमन्त्री आचार्य विश्वासको मत लिने प्रस्ताव जतिसक्दो ढिलो दर्ता गरेर आफ्नो आयु लम्ब्याउने रणनीतिमा लाग्दा प्रस्तावमाथि छलफलको मिति दसैँको बिदापछिका लागि धकेलिएको हो । सरकार नेतृत्व गरिरहेको दल फुटेपछि संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले ३० दिनभित्र विश्वासको मत लिनका लागि प्रस्ताव लैजानु पर्ने प्रावधान छ । ९२ जना सांसद रहेको प्रदेश १ मा प्रतिपक्षी दलसँग ५० सांसद छन् । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेसँग जम्मा ४१ सांसदमात्रै छन् । बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ जुन संख्या जुटाउनु मुख्यमन्त्री आचार्यका लागि असम्भवप्रायः छ ।