इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका बस्दै आएका एक पुरुषले सप्तकोसी नदीमा हाम फालेका छन् ।

हाम फाल्नेमा ओखलढुङ्गाको बर्नाले २ घर भई हाल इटहरी उपमहानगरपालिका १ बस्दै आएका ५८ वर्षीय तिलकप्रसाद दाहाल रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार आज बिहान ११ः३५ बजे दाहालले कोसी ब्यारेजको १३ नम्बर ढोकाको उत्तरतर्फबाट नदीमा हाम फालेका हुन् । सोही ढोकाको नजिकै उनले प्रयोग गरेको को ३६ प ९२५५ नम्बरको मोटरसाइकल तथा चप्पल र पर्ससमेत फेला परेको प्रहरीको भनाइ छ । मोटरसाइकल फेला परेकाले दाहाल इटहरीबाट ब्यारेजसम्म सोही मोटरसाइकलमा आएर नदीमा हाम फालेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

नदीमा हाम फाल्नुअघि दाहालले परिवारलाई जानकारी गराएको खुल्न आएको बताउँदै प्रहरीले उनका छोरा तथा आफन्तहरु पनि घटनास्थलमा पुगेको जानकारी दिएको छ । घटनाको जानकारी पाएलगत्तै स्थानीय माझी तथा प्रहरीले दाहालको खोजी गरिरहेको तर हालसम्म उनलाई फेला पार्न भने नसकिएको प्रहरीले जनाएको छ । सप्तकोसी नदीमा यस्ता घटना पटकपटक हुने गरेका छन् ।