इटहरीः दसैँ मनाउन गाउँ पुगेको मान्छे बाटोबाटै बेपत्ता हुनु र मोटरसाइकलसहित खोलामा शव भेटिनु आफैँमा हृदयविदारक अवस्था हो ।
त्यसमा पनि श्रीमानको मृत्युको खबर पाएलगत्तै पतिवियोग सहन नसकी बेहोस भएकी श्रीमतिको पनि तत्कालै मृत्यु हुनु वास्तवमै परिवारमाथि असह्य बज्रपात हो । यस्तै भएको छ धनकुटाको साँघुरीगढी नगरपालिका १० आहालेस्थित चिराङ चौकका झगेन्द्र राईको परिवारमा । मुल घर धनकुटा भएपनि सपरिवार सुनसरीको धरान उपमहानगरपालिका ११ बस्दै आएका ४३ वर्षीय राई छोरालाई लिएर मंगलबार दिउँसो आहालेस्थित गाउँ आएकोमा सोही दिन साँझ मोटरसाइकलसहित बाढीमा परी बेपत्ता भएका राईको शव भोलिपल्ट अर्थात् बुधबार धरान २० स्थित धरान आहाले सडकखण्डमा पर्ने खैरेनी खोलामा फेला पर्यो ।
प्रहरीले शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएकोमा सोको भोलिपल्ट अर्थात् बिहीबार सम्पूर्ण कानूनी प्रकृया सम्पन्न गरी झगेन्द्रको दाहसँस्कारको तयारी गरियो । तर, श्रीमानको मृत्युपछि शोकका कारण अचेत बनेकी उनकी श्रीमति अनुको पनि अस्पताल पुर्याउन नपाउँदै मृत्यु हुन गयो । यसरी श्रीमान र श्रीमति दुवैको एकैसाथ मृत्यु भएपछि बिहीबार दिउँसो दुवै जनाको एकैसाथ अन्त्येष्टि गरिएको छ । नेपाली कांग्रेसको साँघुरीगढी गाउँपालिका १० का वडा सभापतिसमेत रहेका झगेन्द्रको पार्टीको झन्डा ओढाएर ससम्मान अन्त्येष्टि गरिएको नेपाली कांग्रेसका क्षेत्रीय सभापति जितेन्द्र रुम्दालीले जानकारी दिए । अन्त्येष्टि कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका सचिव विजयसन्तोषी राई, कोषाध्यक्ष दिनेश राई लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । मृतक दम्पत्तिका एक छोरा र एक छोरी रहेका छन् ।
ु