इटहरीः नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले मदन भण्डारी र जीवराज आश्रितको हत्याबारे सत्यतथ्य पत्ता लगाउन पार्टीले छानबिन गर्ने बताएका छन् ।

समाजवादी प्रेस संगठनले आज बिहान बिर्तामोडस्थित पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता खतिवडाले भण्डारी र आश्रितको रहस्यमय मृत्युबारे अनुसन्धान गर्न पार्टीले बनाएको कार्यदलको प्रतिवेदन कार्यदलमै संलग्न रहेका वर्तमान एमाले अध्यक्ष केपी ओलीले सार्वजनिक गर्न नचाहेको कारण घटनाको रहस्य अहिलेसम्म बाहिर आउन नपाएको बताए । पार्टीका प्रचार विभाग प्रमुख तथा प्रवक्ता समेत रहेका नेता खतिवडाले हत्याको प्रमाण लुकाउन वर्तमान राष्ट्रपति विद्या भण्डारी र ओली नै संलग्न रहँदै आएको आरोप लगाए ।

कम्युनिस्ट पार्टीको कुनै पनि विशेषता एमालेसँग बाँकी नरहेको तथा यसले राष्ट्रियतालाई सत्तासँग भजाउन खोजेकाले आफूले त्यस्तो पार्टीमा बस्नु उचित नहुने ठानेर पार्टी परित्याग गरेको खतिवडाको भनाइ थियो । नेता खतिवडाले वर्तमान सरकारी गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने बताए । सरकारको सय दिन उपलब्धिमूलक रहेको भन्दै राजदूत नियुक्तिको प्रकृयाले यसै साता पूर्णता पाउने आश्वासन दिए । समाजवादी प्रेस संगठनका प्रदेश इन्चार्ज तिर्थ सिग्देलले सञ्चालन गरेको सो कार्यक्रममा पार्टीका जिल्ला सचिव निलमणि बरालले स्वागत मन्तव्य राखेका थिए ।