इटहरीः बेमौसमी बाढीका कारण उद्योग व्यवसायका क्षेत्रमा अर्बौँ रुपैयाँ बराबरको क्षति भएको पाइएको छ ।
बाढीका कारण सुनसरी मोरङ औद्योगिक कोरिडोरमा रहेका अधिकांश उद्योगमा क्षति पु¥याएको छ भने कतिपय उद्योगको उत्पादनसमेत बन्द भएको छ । बाढीका कारण क्षति पुगेका क्षेत्रमा उद्योग संगठन मोरङले बाढीको क्षतिबारे तथ्याङ्क संकलन सुरू गरेको बताएको छ । उद्योग संगठन मोरङका अनुसार सुनसरी मोरङ औद्योगिक कोरिडोरका अधिकांश उद्योगमा बाढी पसेर क्षति पुगेको तर कति क्षति भयो भन्ने यकिन भइनसकेको अवस्था छ । क्षतिको विवरण संकलन गर्ने कार्य सुरु भएको तर पूरा तथ्याङ्क आउन २÷३ दिन लाग्ने उद्योग सँगठन मोरङ्गको आँकलन छ । उद्योगभित्र छिरेको पानी कसरी बाहिर निकाल्ने, पानीमा डुबेका कच्चा पदार्थ र तयारी वस्तु कसरी जोगाउने भन्ने ध्याउन्नमा उद्योगीहरू रहेकाले तत्कालै तथ्याङ्क आउन नसकेको र उद्योगले ठूलो क्षति व्यहोरेको बताइएको छ । सुनसरी मोरङ औद्योगिक कोरिडोरका करिब ८० प्रतिशत उद्योगमा पानी पसेको छ । धेरै उद्योगी अहिले कारखानाभित्र र बाहिरको पानी निकाल्नमै व्यस्त छन् ।
बुढीगंगा, दुहबी, सोनापुर, इटहरी र मोरङको कटहरी क्षेत्रका अधिकांश उद्योगमा बाढीको पानी पसेर तहसनहस पारेको छ । अधिकांश उद्योगहरूले पानीको कारण उत्पादन बन्द गरेर उत्पादित वस्तु र कच्चा पदार्थको व्यवस्थापनमा जुटेका छन् ।े उद्योगका मेसिन, मोटर, औजार, कच्चा माल, प्याकेजिङ सामग्री, गोदामका तयारी माल, ढुवानीका साधनलगायत धेरैतिर नोक्सानी भएकाले उद्योगहरु तत्काल सञ्चालनमा आउने सम्भावना कम भएको उद्योगीहरु बताउँछन् । उद्योगी व्यापारीहरुले बाढीको कारण करोडौंको क्षति पुगेकाले बीमाको रकम तत्काल उपलब्ध गराउन सम्बद्ध निकायको ध्यानाकर्षणसमेत गराएका छन् । उद्योगहरूमा मेसिनरी, तयारी वस्तु र कच्चा पदार्थको समेत क्षति भएकाले उद्योगहरूले सञ्चालन हुँदासम्म निकै क्षति व्यहोर्नुपर्ने अवस्था रहेकाले बीमा रकमको भुक्तानीमा ढिलाइ नगर्न उनीहरुले माग गरेका छन् ।
झुम्का उद्योग वाणिज्य संघका सचिव दुर्गाप्रसाद फुयालका अनुसार बाढीबाट झुम्काका उद्योग व्यवसायमा त्यति ठूलो असर गरेको छैन । तथापि सामान्य नोक्सानी भने निकै ठाउँमा भएको बताइएको छ । बेमौसमी बाढीका कारण इटहरीको सबै वडाहरुमा ठूलो क्षति गरेको उद्योग वाणिज्य महासंघ इटहरीका अध्यक्ष भीम पौडेलले बताए । बाढीले बगाएर ल्याएको केराको दाम्चा र अन्य पत्करले खोला थुनिएपछि खोलाको पानी बस्तीमा पस्दा इटहरीको हल्गडा र आइतबारे क्षेत्रमा बढी क्षति भएको छ । वाणिज्य संघका अध्यक्ष पौडेलका अनुसार बाढीले इटहरीको तल्लो बेल्ट र आइतबारे क्षेत्र बढी प्रभावित भएको छ । यो समाचार तयार पार्दासम्म इटहरी उद्योग वाणिज्य संघले क्षतिको पूर्ण विवरण तयार पारिनसकेको बताएको छ । यद्यपि सरदर ५० करोड रुपैयाँ बराबरको क्षति इटहरीका उद्योगी व्यापारीले व्यहोर्नु परेको अध्यक्ष पौडेलको भनाइ छ । उद्योग वाणिज्य संघले क्षतिको विवरण तयार भइनसकेको बताउँदै व्यापारीको हकहितका लागि स्थानीय सरकार र प्रदेश सरकारसँग राहत लगायतका कुरामा छलफल भइरहेको बताएको छ । बीमा कम्पनीहरुले अवलोकन र क्षतिको अध्ययनमा आलटाल गरिरहेको बताउँदै पौडेलले त्यसको लागि केन्द्रसम्म लड्न आफूहरु तयार रहेको बताएका छन् ।
झुम्काको एउटै फार्ममा १ करोडको नोक्सानी
झुम्का अर्गानिक कृषि फार्म झुम्काका सञ्चालक भरत कार्कीले आफ्नो फार्मबाट एक करोड रुपैयाँ बराबरको क्षति भएको बताएका छन् । कार्कीको फर्ममा रहेका ९ हजार लेयर्स कुखुरा पूर्ण रुपमा सखाप भएका छन् भने ती कुखुराको लागि राखिएका दाना र संरचना गरी १० लाख बराबरको क्षति भएको छ । अण्डा पार्ने समय भएका १२ हजार लेयर्स जातिका कुखुरामध्ये केही कुखुरा तारजालीमा झुण्डिएर बाँच्न सफल भएका छन भने ९ हजार कुखुरा मरेका छन् । ९ हजार कुखुराको क्षति हँुदा ९० लाख रुपैयाँ गरी १ करोडको नोक्सानी भएको बताइएको छ । अर्गानिक फार्ममा रहेका बंगुरहरुलाई रातारात सुरक्षित स्थानमा सार्न सकेका कारण बचाउन सफल भएको कार्कीले बताए । फार्ममा रहेका पशुको बीमा गरेको भएता पनि बीमा कम्पनीले पशुहरुको लगत लगायतका रेकर्ड खोज्ने गरेको बताइएको छ । बाढीले बित्यास गरेका कृषकलाई मल्हम लगाउन अहिलेसम्म स्थानीय निकायका कुनै पनि जनप्रतिनिधिले चासो नदेखाएको बताइएको छ ।
२० करोड बराबरको धानबाली नष्ट
अविरल वर्षासँगै आएको बाढीका कारण सुनसरीमा धानबालीमा मात्रै झण्डै २० करोड रुपैयाँ बराबरको क्षति भएको छ । सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाको धरान, इटहरी, रामधुनी, बराहक्षेत्र, कोसी, भोक्राहा नरसिंह, हरिनगर, देवनागञ्ज, वर्जु, गढी र दुहबीलगायत क्षेत्रमा लगाएको धानबालीसहित तरकारी बालीमा पनि ठूलो क्षति भएको कृषि ज्ञान केन्द्र इनरुवा सुनसरीले जनाएको छ । जिल्लामा करिब २० हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा लगाएको धानबालीमा क्षति भएको कृषि ज्ञान केन्द्र इनरुवाले जानकारी दिएको छ । मुख्य रूपमा धानबाली, माछापालन र लहरे तरकारी बालीमा गरी २० करोड रुपैयाँभन्दा बढीको क्षति भएको ज्ञान केन्द्रको प्रारम्भिक बुझाइ छ ।