इटहरीः प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले संसदमा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि भोलि प्रदेशसभामा छलफल हुने भएको छ ।
भोलि अपराहन्न १२ः३० बजे प्रदेशसभा बैठकमा प्रस्तावमाथि छलफल प्रारम्भ भई सोही दिन मत विभाजन सम्पन्न हुने प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए । यसैबीच, मुख्यमन्त्री आचार्यमाथि अविश्वास प्रस्ताव दर्ता गराएको विपक्षी गठबन्धनले भावी मुख्यमन्त्रीको नामसमेत टुङ्गो लगाएको छ । अविश्वास प्रस्तावउपर मतदान सम्पन्न हुनासाथ विपक्षी गठबन्धनका तर्फबाट राजेन्द्र राईलाई मुख्यमन्त्री नियुक्तिका लागि सिफारिस गरिने नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले बताए । ‘आइतबार मतदानपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्नुहुन्छ,’ उनले भने, ‘गठबन्धनले मुख्यमन्त्रीको रूपमा राजेन्द्र राईलाई अघि सार्नेछ ।’ भदौ १० गते मुख्यमन्त्री बनेका आचार्य नेकपा एमाले विभाजित भई नेकपा समाजवादीको उदय भएसँगै अल्पमतमा परिसकेकाले उनलेविश्वासको मत नपाउने निश्चित छ ।
यसै कारणले मुख्यमन्त्री आचार्य विश्वासको मत लिने प्रस्ताव जतिसक्दो ढिलो दर्ता गरेर आफ्नो आयु लम्ब्याउने रणनीतिमा लाग्दा प्रस्तावमाथि छलफलको मिति दसैँको बिदापछिका लागि धकेलिएको हो । सरकार नेतृत्व गरिरहेको दल फुटेपछि संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले ३० दिनभित्र विश्वासको मत लिनका लागि प्रस्ताव लैजानु पर्ने प्रावधान छ । ९२ जना सांसद रहेको प्रदेश १ मा प्रतिपक्षी दलसँग ५० सांसद छन् । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेसँग जम्मा ४१ सांसदमात्रै छन् । बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ जुन संख्या जुटाउनु मुख्यमन्त्री आचार्यका लागि असम्भवप्रायः छ ।