इटहरीः न्यादी हाइड्रोपावर लिमिटेडले बिक्री गरेको साधारण शेयरको शुक्रबार बाँडफाँट भएको छ ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आफ्नै कार्यालयमा शुक्रबार शेयर बाँडफाँट गरेको हो । बाँडफाँटबाट २ लाख ९ हजार २५० जनाले शेयर पाएका छन् भने बाँकीको हात खाली भएको छ ।  आईपीओमा २२ लाख ५५ हजार ८४ जनाले २ अर्ब ७० करोड ८९ लाख १५ हजार रूपैयाँ बराबरको आवेदन गरेका थिए । जसमा १० हजार ४४२ आवेदन रद्द भएको थियो भने ३ हजार ५०४ आवेदन सिआस्वा प्रणालीले अस्वीकृत गरेको थियो । स्वीकृत भएका २२ लाख ४१ हजार १३८ आवेदनमा आईपीओ बाँडफाँट गरिएको हो । 

कम्पनीले असोज १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणको लागि २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये ४५ हजार कित्ता शेयर कम्पनीको कर्मचारीहरुका लागि र १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ता शेयर सर्वसाधारणका लागि वितरण गरिएको थियो । न्यादीको शेयर परे नपरेको हेर्न बिक्री प्रबन्धकको वेबसाइटका साथै सीडीएस एण्ड क्लियरिङ्गको आधिकारिक वेबसाइटबाट पनि हेर्न सकिन्छ ।