कञ्चनपुरः प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी–पहिरोपीडितका लागि सरकारले राहत प्याकेज ल्याउने बताएका छन् ।

शुक्रबार कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीले गरेको कटान क्षेत्रको स्थलगत निरीक्षणपछि आयोजित कार्यक्रममा उनले बेमौसमी बाढीबाट मुलुकभर भएको क्षतिको विवरण संकलन गरेर पीडितलाई राहत र पुनःनिर्माणमा जुट्ने बताएका हुन् । ‘सुदूरपश्चिमका पहाडी जिल्लामा पनि बाढीपहिराले ठूलो क्षति पु¥याएको छ‚’ प्रधानमन्त्री देउवाले भने, ‘सीमित स्रोतसाधनका बाबजुत पनि पीडितलाई राहत दिन्छौँ ।’ मन्त्रिपरिषद्को निर्णयबाट केही दिनअघि राहत व्यवस्था गरिएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले बाढीका कारण प्रदेश १ लगायत देशभरका विभिन्न स्थानमा क्षति पुगेको बताए ।

प्रधानमन्त्री देउवाले कञ्चनपुरको महाकाली तटीय क्षेत्र र दोधारा–चाँदनीमा विगतमा पनि नदी कटानको समस्या रहेको चर्चा गर्दै कैलाली कञ्चनपुरमा धानबालीमा ठूलो क्षति पुगेको बताए । निरीक्षणपछि प्रधानमन्त्री देउवालाई जिल्ला सुरक्षा समितिले बाढीको क्षति र वस्तुस्थितिबारे जानकारीसमेत गराएको छ । सुदूरपश्चिमको बाढी–पहिरोको क्षति र पीडितको अवस्था बुझ्न बिहीबार यहाँ आएका प्रधानमन्त्री देउवाले डोटी, बझाङ, बैतडी र डडेल्धुरामा निरीक्षण गरेका थिए । उनले आज कैलालीमा पनि बाढीग्रस्त क्षेत्रको निरीक्षण गर्ने कार्यक्रम रहेको बताइएको छ । -रासस