इटहरीः निरन्तरको वर्षापछि आएको बाढी पहिरोमा परी प्रदेश १ मा ६२ जनाको मृत्यु भएको छ ।

बाढी पहिरोका कारण प्रदेशभर २० जना घाइते भएका छन् भने १३ जना हालसम्म बेपत्ता रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार बाढी–पहिराको क्षति सबैभन्दा बढी पाँचथरमा भएको छ । सो जिल्लाका कुम्मायक गाउँपालिका, मिक्लाजुङ गाउँपालिका, फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिकामा पहिरोले घर पुरिँदा २८ जनाको मृत्यु, १० जना घाइते र ६ जना बेपत्ता भएको एसपी राईले जानकारी दिए । यसैगरी इलाममा १४ जनाको मृत्यु‚ पाँच जना घाइते र एक जना बेपत्ता भएका छन् ।

इलामको फाकफोकथुम गाउँपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, माई नगरपालिका र माङसेबुङ गाउँपालिकामा बाढी–पहिरोले मानवीय क्षति पु¥याएको हो । यस्तै‚ धनकुटाको चौबिसे गाउँपालिकामा बाढी–पहिरोका कारण सातजनाको मृत्यु र पाँचजना घाइते भएका छन् । सुनसरीको धरान उपमहानगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकामा आठजनाको मृत्यु र तीनजना बेपत्ता भएका छन् । बाढीका कारण मोरङको विराटनगर महानगरपालिका–१२ मा एक‚ भोजपुरको राम प्रसाद राई गाउँपालिका–६ एक तथा उदयपुरको त्रियुगा नगरपालिका र उदयपुरगढी गाउँपालिकामा बाढीका कारण एक÷उक जनाको मृत्यु भएको प्रवक्ता राईले जनाकारी दिए ।

बाढी कारण सयौं घर डुबानमा पर्दा चार हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । बाढी पहिरो प्रभावितको उद्धारकार्यलाई तदारुकताका साथ अगाडि बढाइएको जनाउँदै प्रहरीले पाँच हजार ९५ जनाको दस्ता प्रदेशका विभिन्न स्थानमा खटिएको जनाएको छ ।