इटहरीः नेकपा एमाले विभाजन भई नेकपा समाजवादीको गठनसँगै अल्पमतमा परिसकेको प्रदेश १ सरकारका मुख्यमन्त्री भीम आचार्यविरुद्ध आज प्रदेशसभामा अविश्वास प्रस्ताव पेस हुने भएको छ ।

अविश्वास प्रस्ताव दर्ताका लागि असोज २२ गते बसेको प्रदेशसभाको नवौँ अधिवेशनमा मुख्यमन्त्री आचार्यकै असहयोगका कारण दर्ता हुन नसकी असोज २५ गते मात्र दर्ता भएको अविश्वास प्रस्ताव आज छलफलका लागि पेस हुन लागेको संसद सचिवालयले जनाएको छ । भदौ १० गते मुख्यमन्त्री बनेका आचार्य अल्पमतमा परिसकेकाले उनलेविश्वासको मत नपाउने निश्चित छ । यसै कारणले मुख्यमन्त्री आचार्य विश्वासको मत लिने प्रस्ताव जतिसक्दो ढिलो दर्ता गरेर आफ्नो आयु लम्ब्याउने रणनीतिमा लाग्दा प्रस्तावमाथि छलफलको मिति दसैँको बिदापछिका लागि धकेलिएको हो । आजको प्रदेशसभा बैठक तीन करोड नौ लाख लागतमा तयार गरिएको प्रदेशसभाको नयाँँ भवनमा बस्न लागेको छ । सरकार नेतृत्व गरिरहेको दल फुटेपछि संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले ३० दिनभित्र विश्वासको मत लिनका लागि प्रस्ताव लैजानु पर्ने प्रावधान छ ।

अविश्वास प्रस्ताव आज दर्ता भइहाले पनि प्रस्तावउपर मतदान भने आज हुने सम्भावना नरहेको प्रदेशका कानून मन्त्री हिक्मतकुमार कार्कीले बताए । उनका अनुसार दसैँ बिदा मनाउन गृहजिल्ला पुगेका सांसद फर्किनसकेकाले मतदान केही दिन धकेलिने सम्भावना छ । सत्ताधारी दल सत्ता लम्ब्याउने कसरतमा लागिरहँदा प्रतिपक्षी दल भने सरकार ढाल्ने रणनीतिमा उत्तिकै सक्रियतापूर्वक लागेको देखिन्छ । नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले शुक्रबार नै प्रक्रिया टुङ्ग्याउनु पर्ने बताए । गठबन्धनले आजै मतदान गरी नयाँ सरकार गठनको गृहकार्य सुरु गर्ने तयारी गरेको छ । ९२ जना सांसद रहेको प्रदेश १ मा प्रतिपक्षी दलसँग ५० सांसद छन् । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेसँग जम्मा ४१ सांसदमात्रै छन् । बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ जुन संख्या जुटाउनु मुख्यमन्त्री आचार्यका लागि असम्भवप्रायः छ ।