इटहरीः सुनसरीका अलगअलग स्थानमा गएराति भएका सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

कालाबञ्जारबाट चक्रघट्टीतर्फ जाँदै गरेको अनटेस्ट कार बराहक्षेत्र नगरपालिका–३ मा दुर्घटना हुँदा एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा कार चालक बराहक्षेत्र–६ चक्रघट्टीका ४० वर्षीय उपेन्द्र दाहाल रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार दुर्घटनापछि गम्भीर घाइते भएका दाहालको उपचारका क्रममा राति करिब ८ः२० बजे मृत्यु भएको हो ।

सडकमा गुडिरहेको कार आफै अनियन्त्रित भएर पैनीमा पल्टिँदा उनी घाइते भएका थिए । त्यस्तै पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोसी गाउँपालिका–८ भन्टाबारीमा पश्चिमतर्फ जाँदै गरेको अनटेस्ट स्कुटर आफैँ अनियन्त्रित भएर राति ११ः३० दुर्घटना हुँदा चालक झापाको दमक नगरपालिका–१ की २६ वर्षीया सासा लिम्बूको मृत्यु भएको डीएसपी तिम्सिनाले जानकारी दिए । दुर्घटनापछि गम्भीर घाइते भएकी लिम्बूलाई उपचारार्थ विराटनगरस्थित न्युरो अस्पताल पठाइएकोमा उनको उपचारका क्रममा आज बिहान करिब ३ः४० बजे मृत्यु भएको डीएसपी तिम्सिनाको भनाइ छ । स्कुटरको पछाडि सवार झापाको बुद्धशान्ति गाउँपालिका–१ की २७ वर्षीया रेनु गुरुङ भने सकुशल रहेको बताउँदै प्रहरीले दुर्घटनाबारे विस्तृत अनुसन्धान अगाडि बढाइएको जनाएको छ ।