इटहरीः पछिल्लो करिब डेढ वर्षदेखि चलचित्रकर्मीको पेसा व्यवसाय चौपट भएपछि कलाकर्मीहरुको आकर्षण म्युजिक भिडियोतिर मोडिएको छ ।
समय पनि थोरै दिए पुग्ने र पारिश्रमिक पनि भनेजति पाइने भएपछि चलचित्रमा समेत चुजी कलाकारहरुको आकर्षण म्युजिक भिडियोतिर मोडिएको हो । यस्तैमा चलचित्रसमेत छानेर भूमिका चित्त बुझे मात्र अभिनय गर्ने गरेकी अभिनेत्री सम्राज्ञी राज्यलक्ष्मी शाहसमेत लगातार म्युजिक भिडियोमा देखिन थालेकी छन् । उनले बोल्ड दृष्य दिएको प्रभाव बोलको गीतको म्युजिक भिडियो पछिल्लो पटक सार्वजनिक भएको हो । प्रकाश विक्रम थापामा शब्द, संगीत र स्वर रहेको उक्त गीतमा संगीत निर्माण र रेकर्डिङ सुरज शर्माको रहेको छ ।
शेखरराज खशजुको निर्देशन रहेको भिडियोमा सम्राज्ञीको साथमा विवेक खड्काको रोमान्स देख्न सकिन्छ । इन्डोर दृष्यलाई प्राथमिकता दिएको भिडियोमा सुशन मगरको छायांकन, प्रविण श्रेष्ठको सम्पादन रहेको छ भने प्रकाश विक्रम थापा भिडियोका निर्माता हुन् ।